विद्युतीय चुरोट (भेप) मा सुन लुकाएर गरिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) र उनका छोराहरूविरुद्ध पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
यसै प्रकरणमा माओवादी केन्द्रकै उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेका छन्। उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार रोल्पाको राङ्सी घर भएका पूर्वउपराष्ट्रपति पुन पनि सो प्रकरणमा मुछिएकाले उनीमाथि अनुसन्धान अघि बढाइएको हो।
दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्र पुनले शक्तिको दुरुपयोग गर्दै हुम्लाबासी भएको कागजात बनाएर सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट लिएका थिए। त्यसपछि हुम्ला–चीन सीमा क्षेत्र ताक्लाकोट पुगेर चिनियाँ टोलीसँग ‘तमसुक गरेर चार किलो सुन बुझेको’ समाचार सार्वजनिक भएको थियो। तर उक्त सुनको भुक्तानीबाफतको रकम नदिएपछि यो प्रकरण बाहिर आएको बताइन्छ।
पूर्वउपराष्ट्रपति पुनका स्वकीय सचिव समेत रहेका जितेन्द्र हाल अमेरिकामा रहेको पारिवारिक स्रोतले जनाएको छ।
उनका कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरार रहेका छन्। प्रहरीका अनुसार २०७९ सालमा भेपमा लुकाएर ल्याइएको करिब ९ किलो सुन र २०८० सालमा हङकङबाट ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन तस्करी प्रकरणमा दीपेशको संलग्नता देखिएको छ।
सुन तस्करी प्रकरणमा गठित जाँचबुझ आयोगले दीपेश पुनको संलग्नता प्रमाणित गर्दै थप अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो। सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी हाजिरी जमानीमा छुटेका थिए र हाल भारतमा रहेको जानकारी प्रहरीले दिएको छ।
त्यस्तै, तत्कालीन उपराष्ट्रपति पुनको सचिवालयमा ‘वैदेशिक मामिला विज्ञ’ का रूपमा कार्यरत जीवनकुमार गुरुङ २०८० साल फागुनमा सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए। उनी पछि धरौटीमा रिहा भएका थिए।
यसैगरी पुनकी आफन्त अमला रोका पनि सो प्रकरणमा मुछिएकी थिइन्। ठमेलमा ‘होटल भियना’ सञ्चालन गर्ने रोकालाई गत असारमा दुई लाख धरौटीमा रिहा गरिएको थियो।
पूर्वउपराष्ट्रपति पुनका छोराहरू, आफन्त र सचिवालयका सदस्यहरू समेत सुन तस्करी प्रकरणमा मुछिएपछि, पुन र चिनियाँ टोलीबीचको शंकास्पद सम्बन्धबारे पनि प्रहरीले अनुसन्धान थालेको स्रोतले जनाएको छ।