हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्वभर मनाइने विश्व दृष्टि दिवस यस वर्ष असोज २३ गते बिहीबारका दिन विभिन्न कार्यक्रमका साथ नेपालमा पनि मनाइयो। यस दिवसको उद्देश्य आँखाको स्वास्थ्यप्रति जनचेतना बढाउने र दृष्टि संरक्षणको महत्त्वबारे सन्देश फैलाउने हो।
नेपालमा यस वर्षको विश्व दृष्टि दिवस “आफ्नो आँखालाई माया गरौं” भन्ने नाराका साथ मनाइएको थियो। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा नेपाल नेत्रज्योति संघले देशभरका प्रहरी कार्यालयहरूमा कार्यरत नेपाल प्रहरीहरूको आँखाको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो।
मन्त्रालयको निर्देशनअनुसार नेपाल नेत्रज्योति संघ अन्तर्गतका आँखाका अस्पताल, उपचार केन्द्रहरू, प्रदेश तथा जिल्ला शाखाहरूले आफ्ना नजिकका प्रहरी कार्यालयहरूमा पुगेर निःशुल्क आँखाको जाँच, रिडिङ ग्लास (नजिक हेर्ने चश्मा) तथा आवश्यक औषधि वितरण गरी दिवस मनाए।
नेपाल नेत्रज्योति संघ अन्तर्गत रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल, जसको कार्यक्षेत्र बारा र पर्सा जिल्ला हो, ले पनि आफ्ना उपचार केन्द्रहरू मार्फत उक्त कार्यक्रम सञ्चालन गरेको थियो।
पर्सा जिल्लामा रहेका वीरगञ्ज सिटी क्लिनिक, पोखरिया आँखा उपचार केन्द्र, भिस्वा आँखा उपचार केन्द्र र जगरनाथपुर आँखा उपचार केन्द्र, त्यस्तै बारा जिल्लामा रहेका हीरालाल केडिया आँखा उपचार केन्द्र (कवहीगोंथ), कोल्हवी आँखा उपचार केन्द्र (कोल्हवी) मार्फत कार्यक्रम सञ्चालन गरियो।
केडिया आँखा अस्पतालबाट जिल्ला प्रहरी कार्यालय पर्सा र बारामा असोज २३ र २४ गते दुई दिनसम्म क्रमशः निःशुल्क आँखाजाँच कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रम अन्तर्गत दुवै जिल्लामा कार्यरत नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी जम्मा ५२२ जनाको आँखाको जाँच गरिएको थियो।
तीमध्ये ३१५ जनालाई निःशुल्क चश्मा र ३४६ जनालाई औषधि वितरण गरिएको अस्पतालले जनाएको छ।
त्यसैगरी, ४ जना मोतिबिन्दु रोगीलाई निःशुल्क शल्यक्रियाका लागि अस्पताल बोलाइएको र २८ जनालाई थप उपचारका लागि केडिया आँखा अस्पतालमा रेफर गरिएको थियो।
बारा जिल्लाको कवहीगोंथमा कार्यरत नगर प्रहरीका ४ जनाको पनि आँखाजाँच, चश्मा र ३ जनालाई औषधि वितरण गरिएको थियो।
कुल रूपमा, कार्यक्रम मार्फत ५२६ जनाको आँखाजाँच, ३१९ जनालाई चश्मा, र ३४९ जनालाई औषधि निःशुल्क वितरण गरिएको अस्पतालले जनाएको छ।
यस कार्यक्रम अन्तर्गत फेला परेका मोतिबिन्दु रोगीहरूको निःशुल्क शल्यक्रिया रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालमा गरिने अस्पताल प्रशासनले जनाएको छ।