अध्यादेशमार्फत कानुन संशोधनपछि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन अभियानमा बिहीबारसम्म २१ हजार बढीले आफ्नो नाम दर्ता गराएका छन्। आयोगले असोज ९ गते सूचना प्रकाशित गर्दै देशभर मतदाता नामावली संकलन कार्य सुरु गरेको हो।
सरकारले हालै मतदाता नामावली ऐन संशोधन गरी निर्वाचन घोषणा भइसकेपछि पनि मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था गरेको छ। प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको छ।
यसअघि निर्वाचन घोषणा भएसँगै मतदाता नामावली संकलन रोक्ने कानुनी व्यवस्था थियो। तर, संशोधनपछि आयोगलाई नामावली संकलन जारी राख्ने बाटो खुलेको हो। सोअनुसार आयोगले कात्तिक ३० गतेसम्म नाम दर्ता गराउन सकिने समय निर्धारण गरेको छ।
निर्वाचन आयोगका सचिव महादेव पन्थका अनुसार देशभरका सबै जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य जारी छ। उनका अनुसार बिहीबार साँझसम्म २१ हजार ६ सय ४७ जना नागरिकले आफ्नो नाम दर्ता गराइसकेका छन्।
पहिलो दिन ८ हजारले मात्र नाम दर्ता गराएका भए पनि पछिल्ला दिनमा संख्यामा वृद्धि भएको पन्थले जानकारी दिए। हाल १८ वर्ष उमेर पुगेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने छन्।
आयोगले अनलाइनमार्फत आवेदन दिने सुविधा पनि उपलब्ध गराएको छ। नागरिकले अनलाइन फारम भरेपछि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गई फोटो खिचाउने र बायोमेट्रिक विवरण दिने व्यवस्था गरिएको छ।
“जो जहाँ छन्, त्यहीँबाट नाम दर्ता गर्न सक्ने सुविधा उपलब्ध छ,” सचिव पन्थले भने, “अनलाइनमा विवरण भरेपछि आफ्नो जिल्ला निर्वाचन कार्यालयमा गई प्रक्रिया पूरा गर्न सकिन्छ।”
उनका अनुसार मतदाता नामावली दर्ताका लागि गृह जिल्ला पुग्नुपर्ने बाध्यता पनि अब छैन। उनले निर्धारित मिति कात्तिक ३० गतेभित्र नाम दर्ता गराइसक्न आग्रह गरे।
निर्धारित अवधिभित्र संकलित नामहरू सम्बन्धित स्थानीय तहमा पठाइने छन्, जसपछि दावी–विरोध प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।
सचिव पन्थका अनुसार आयोगले यस अभियानलाई विशेष प्राथमिकता दिएको छ। उनले योग्यता पुगेका र नाम छुटेकाहरूलाई अनिवार्य रूपमा नाम दर्ता अभियानमा सहभागी हुन आग्रह गरे।
निर्वाचनका तयारीको पहिलो र महत्वपूर्ण चरण मतदाता नामावली भएकाले आयोगले यसलाई शुद्ध, अद्यावधिक र वास्तविक बनाउने कार्यलाई तीव्रता दिएको छ।
आयोगका तथ्यांक अनुसार हालसम्म १ करोड ८१ लाख ६८ हजार २३० मतदाता दर्ता भएका छन्। तीमध्ये महिला ८९ लाख १६ हजार ५०२, पुरुष ९२ लाख ५१ हजार ५४१ र अन्य १८७ जना रहेका छन्।
२०७९ सालको निर्वाचनमा मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७७ थियो। अहिले दर्ता भइरहेका नयाँ नामहरू थपिएपछि अन्तिम मतदाता नामावली र संख्या तय गरिनेछ।
आयोगका सह–प्रवक्ता तथा सूचना अधिकारी सुमन घिमिरेका अनुसार नयाँ मतदाता संख्या अनुसार मतदान केन्द्रहरूको संख्या पनि पुनरावलोकन गरिनेछ। आयोगले एक हजार मतदाता बराबर एक मतदान केन्द्र निर्धारण गर्ने नीति अपनाएको छ।
हाल देशभर १० हजार ८९२ मतदान स्थलमा २२ हजार २२७ मतदान केन्द्र कायम रहेका छन्। नयाँ मतदाता संख्याको आधारमा यसमा आवश्यक समायोजन गरिने आयोगले जनाएको छ।