शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरू: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र, र पाठ्यक्रम विकास केन्द्रलाई आवश्यक निर्देशन दिएका छन्।
बुधबार ती तीनवटै निकायका पदाधिकारीहरूसँग छुट्टाछुट्टै छलफल गर्दै मन्त्री पुनले सम्बन्धित क्षेत्रमा सुधार र प्रभावकारी कामको आवश्यकता औंल्याएका हुन्।
मन्त्री पुनले नास्टमा करिब २ घण्टा छलफल गर्दै संस्थालाई उच्चकोटीको अनुसन्धान केन्द्रका रूपमा विकास गर्न एक साताभित्र सुझाव तयार पार्न निर्देशन दिएका छन्। उनका अनुसार नास्टका प्रयोगशालाहरू उत्कृष्ट स्तरका भएकाले त्यसअनुरूप अनुसन्धान कार्य पनि उच्चस्तरीय हुनुपर्ने आवश्यकता रहेको छ।
त्यसैगरी, उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ घण्टा छलफल गरी शिक्षक दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्तै न्यून रहेका विद्यालयहरूको एकीकरण (मर्ज) प्रक्रिया, योग्य र सक्षम प्रधानाध्यापकको देशभर समान मापदण्ड अनुसार नियुक्ति, र अनलाइन शिक्षाका लागि डिजिटल शैक्षिक सामग्री निर्माणमा विशेष जोड दिन निर्देशन दिएका छन्।
मन्त्री पुनले पाठ्यक्रम विकास केन्द्रमा पनि करिब २ घण्टा छलफल गरी सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रम विकासमा गम्भीरता देखाउन आग्रह गरे। उनले पाठ्यक्रम परिमार्जन र अद्यावधिक समयमै गर्न, मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग पुर्याउन, र पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यवहारिक शिक्षा, इतिहास तथा संविधानसम्बन्धी ज्ञानलाई उच्च प्राथमिकता दिन निर्देशन दिए।
त्यस्तै, उनले आगामी शैक्षिक वर्षदेखि कक्षा ९ र १० मा १०० अङ्कको कम्प्युटर विषय अनिवार्य गरिने भएकाले सोही अनुरूप पाठ्यक्रम विकास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।