काठमाडौंको ऐतिहासिक काष्ठमण्डप क्षेत्र नजिकै भीषण आगलागी भएको छ। सोमबार बिहान करिब ४:३० बजे सुरु भएको आगो अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२, भिमसेनस्थानस्थित मोहन शाहको दुईतले घरमा रहेको कपडाको गोदामबाट आगलागी सुरु भएको हो।
“आगो ९० प्रतिशत नियन्त्रणमा आइसकेको छ, केही भागमा अझै निभाउने काम भइरहेको छ,” डीएसपी चन्दले जानकारी दिइन्।
आगलागीका कारण तीनवटा घर र एक मन्दिर प्रभावित भएका छन्। स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले आगो कपडाको गोदामबाट सुरु भएको बताएका छन्, तर आगलागीको यथार्थ कारण भने अझै खुल्न सकेको छैन।
दमकल र सुरक्षाकर्मी परिचालित
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको सुरक्षाकर्मी परिचालित छन्। साथै, काठमाडौं र भक्तपुरबाट आएका ९ वटा दमकल र तीन वटा पानी ट्यांकी प्रयोग गरिएको छ।
क्षतिको विवरण आउन बाँकी
घटनामा मानवीय क्षति भएको छ कि छैन भन्नेबारेमा स्पष्ट विवरण आइसकेको छैन। प्रारम्भिक रूपमा आगलागीले ठूलो मात्रामा धनमालको क्षति पुर्याएको अनुमान गरिएको छ।
स्थानीय प्रशासनले आगलागीको पूर्ण विवरण संकलन कार्य जारी राखेको छ।