आईसीसी पुरुष क्रिकेट विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएको छ। सन् २०२३ का फाइनलमा पुगेका साविक विजेता अस्ट्रेलिया र उपविजेता भारतले अक्टोबर ७ देखि समूह चरणको सुरुवात गर्नेछन्।
दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने विश्वकपको उद्घाटन खेल अक्टोबर ७ मा केपटाउनमा अस्ट्रेलिया र भारतबीच हुनेछ।
भारत र पाकिस्तान एउटै समूहमा परेका छन्। यी दुई चिरप्रतिद्वन्द्वीबीचको बहुप्रतीक्षित खेल अक्टोबर १० मा जोहानेसबर्गमा हुनेछ।
भारतको समूह चरणका खेल
भारत समूह ‘ए’ मा अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, जिम्बाब्वे र क्वालिफायर ‘ए’सँगै छ।
भारतले समूह चरणमा अफगानिस्तानसँग अक्टोबर १४ मा त्स्वानेमा, क्वालिफायर ‘ए’सँग अक्टोबर १७ मा ब्लोमफन्टेनमा र जिम्बाब्वेसँग अक्टोबर २४ मा भिक्टोरिया फल्समा खेल्नेछ।
भारत र जिम्बाब्वेबीचको खेल नयाँ मोसी–ओआ–टुन्या रंगशालामा हुने पहिलो विश्वकप खेल हुनेछ। यो खेल समूह चरणको अन्तिम खेलसमेत हुनेछ।
समूह ‘बी’ मा दक्षिण अफ्रिका र इंग्ल्यान्ड
समूह ‘बी’मा आयोजक दक्षिण अफ्रिकासँगै न्युजिल्यान्ड, श्रीलंका, इंग्ल्यान्ड, बंगलादेश र क्वालिफायर ‘बी’ रहेका छन्।
दक्षिण अफ्रिकाले अक्टोबर ९ मा केपटाउनमा न्युजिल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। सोही दिन जिम्बाब्वेले बुलावायोमा क्वालिफायर ‘ए’ विरुद्ध खेल्नेछ।
दक्षिण अफ्रिकाले अक्टोबर १३ मा क्वालिफायर ‘बी’सँग पार्लमा, अक्टोबर १६ मा इंग्ल्यान्डसँग गेकेबरहामा, अक्टोबर १९ मा बंगलादेशसँग डर्बनमा र अक्टोबर २२ मा श्रीलंकासँग जोहानेसबर्गमा खेल्नेछ।
इंग्ल्यान्ड र न्युजिल्यान्डबीच अक्टोबर २३ मा गेकेबरहामा खेल हुनेछ भने सोही दिन बंगलादेशले क्वालिफायर ‘बी’सँग खेल्नेछ। यससँगै समूह ‘बी’को खेल समाप्त हुनेछ।
सुपर–७ मा पुग्ने सात टोली
समूह चरणपछि प्रतियोगिता ‘सुपर–७’ चरणमा प्रवेश गर्नेछ। दुवै समूहबाट शीर्ष तीन टोली र दुई समूहका चौथो स्थानमा रहने टोलीमध्ये राम्रो प्रदर्शन गर्ने एक टोली गरी सात टोली सुपर–७ मा पुग्नेछन्।
समूह चरणबाट सुपर–७ मा अंक भने बोकिने छैन। सातै टोलीले अक्टोबर २५ देखि नोभेम्बर १४ सम्म एकअर्काविरुद्ध ६–६ खेल खेल्नेछन्।
सुपर–७ को अन्त्यमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन्। पहिलो स्थानमा रहने टोलीले पहिलो सेमिफाइनलमा चौथो स्थानको टोलीसँग खेल्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच दोस्रो सेमिफाइनल हुनेछ।
पहिलो सेमिफाइनल नोभेम्बर १७ मा केपटाउनमा र दोस्रो सेमिफाइनल नोभेम्बर १८ मा त्स्वानेमा हुनेछ। फाइनल नोभेम्बर २१ मा जोहानेसबर्गमा हुनेछ। दुवै सेमिफाइनल र फाइनलका लागि रिजर्भ डे राखिएको छ।