दशैं किन र कहिलेदेखि मनाउन थालियो भन्नेबारेमा मुख्य रुपमा तीनवटा पौराणिक कथा प्रचलित छन् । पहिलो कथा रामायणसँग जोडिएको छ । विजयादशमीलाई भगवान रामले लङ्काका राजा रावणमाथि विजय हासिल गरेको दिनमा रूपमा दशैं मनाउन थालिएको मानिन्छ ।
राम अयोध्या राजकुमार थिए । उनले मिथलापुत्री सीतासँग विवाह गरेका थिए । उनी पत्नी सीता र भाई लक्ष्मणका साथ १४ वर्ष वनबासमा हुँदा लङ्का नरेश रावणले सीताको हरण गरेपछि राम र रावणबीच भीषण युद्ध भयो ।
युद्धमा रामले सुग्रिबको सहयोगमा वानर सेना खडा गरी समुद्र पार गरेर रावणसँग युद्ध गरे । युद्धमा रावण पराजित भए । यसैको उपलक्ष्यमा हिन्दू समाजले विजया दशमीको उत्सव मनाउन थालेको हो भन्ने विश्वास गरिन्छ ।
अर्को पौराणिक कथाअनुसार दुर्गा भवानी कात्यायनीले महिषासुर बध गरेको दिनको रुपमा दशैं मनाइन्छ । महिषासुर ऋषि कश्यप र पत्नी दनुका नाति थिए । कश्यप र दनुका रम्भ र करम्भ नाम गरेका दुई छोरा थिए । उनीहरू ब्रह्माण्डमा दानव राज स्थापना गर्न तलाउको छेउमा पञ्चाग्नी तापी तपस्या गरे । स्वर्गका राजा इन्द्रले उनीहरूको तपस्याको मनसाय बुझी गोहीको रूप धारण गरी भाई करम्भको तलाउभित्रबाट खुट्टा तानेर मारे ।
भाईको हत्याबाट क्रोधित रम्भले इन्द्रको बध गर्न खोज्दा अग्निदेवले उसलाई रोकेर बरदान माग्न भने । रम्भले आफूभन्दा बलियो र त्रिलोक जित्न सक्ने पुत्र मागे । वरदान पाएर घर फर्किँदै गर्दा बाटोमा रम्भले एक अतिसुन्दर भैंसी देखे । भैंसीको नाम महिषा थियो । रम्भले महिषासँग बिहे गरे । दानव रम्भ र महिषा भैंसीको समागमबाट महिषासुर जन्मियो । महिषासुर मानिस र भैंसी दुवै रूप लिन सक्दथ्यो । महिषासुर एक अत्यन्त दुष्ट राजा भएर निस्कियो । महिषासुरले त्रिलोक जित्यो । पराजित देवगणले नारीशक्तिको आराधना गरे । र, दुर्गा भावनीले महिषासुर बध र देवगणको उद्धार गरिन् । यही दिनको सम्झनामा दशैं मनाउन थालिएको विश्वास गरिन्छ ।
अर्को कथाअनुसार दशैंको शुरूवात दुर्गा कालीले शुम्भ र निशुम्भ नामक दुई दाजुभाई दानवको बध गरेर शुरू भएको हो ।
कथा अनुसार एक दिन राजा शुम्भका सेना चंड मुन्डको देवी पार्वतीसँग जम्काभेट भयो । उनी दुर्गा कालीको रूपमा थिइन् । चन्डमुन्ड पार्वतीको रूपबाट मोहित भए । उनीहरूले दरबारमा फर्किएर राजासामु पार्वतीको रूपको बयान गर्दै रानी हुन योग्य स्त्रीको रूपमा महिमागान गरे ।
कालीलाई राजाको प्रस्ताव स्वीकार गरेर शुम्भ निशुम्भको दरबारमा आउन र रानी हुन स्वीकार गर्न प्रस्ताव गरियो । तर, उनले यो प्रस्ताव अस्वीकार गरिन् । राजाले ६ हजार असुर सेनासहित धुम्रलोचन नामका योद्धालाई पार्वतीको अपहरण गरेर दरबारमा ल्याउन पठाए । दुर्गाले तिनलाई पराजित गरिन् । त्यसपछि चन्डमुन्ड गए । ती पनि मारिए । अब दुर्गासँग लड्न रक्तबिज गयो ।उसको रगतको थोपा भुइँमा झर्नेबित्तिकै ऊ फेरि जन्मिथ्यो । दुर्गाले कालरात्री रूप धारण गरी रक्तबीजको रगत भुइँमा झर्न नदिइकन पिइदिइन् । अन्तिममा शुम्भ निशुम्भ दाजुभाई आफैं युद्धमा जान बाध्य भए । दुर्गाले दुवैको बध गरिन् र त्रिलोकमा शान्ति छायो । त्यही उल्लासमा दशै मनाउन थालिएको मान्यता पनि छ ।