सप्तरीको राजविराजमा जन्मिएका मदनप्रसाद परियार वरिष्ठ जलवायु तथा कृषि विज्ञ हुन्, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्जनौँ संघसंस्थामा महत्वपूर्ण योगदान दिइसकेका छन्। हाल काठमाडौँको चन्द्रागिरी नगरपालिकाका बासिन्दा परियार समता फाउण्डेसनका अध्यक्षसमेत हुन्।
सन् २००९ मा स्थापना भएको फाउण्डेसनले दलित तथा अन्य अल्पसंख्यक समुदायका अधिकार र समावेशिताका लागि अध्ययन, अनुसन्धान, नीति निर्माण, मानवअधिकार र नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएको छ। परियार दलित अधिकार र सामाजिक न्यायको क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।
परियार ०६८ सालमा राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको संयोजक पनि रहेका थिए। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले उनलाई आठ सदस्यीय सुझाव आयोगको संयोजक नियुक्त गरेको थियो। आयोगले विविध क्षेत्र र समुदायका विज्ञहरूसँग सल्लाह गरी राज्य पुनर्संरचनाका लागि सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो।
उदयपुर सिमेन्ट र कृषि औजार कारखाना, वीरगन्जमा परियार महाप्रबन्धकको भूमिकामा पनि रहेका थिए।
शिक्षा क्षेत्रमा उनी भारतको इलाहाबाद कृषि संस्थानबाट कृषि इन्जिनियरिङमा स्नातक, थाइल्याण्डको बैंकक एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्नात्तकोत्तर र विद्यावारिधि गरेका छन्। जलवायु अनुकूलन, गरिबी निवारण, आर्थिक वृद्धि, समावेशीकरण, सुशासन, सूचना प्रविधि, ग्रामीण तथा कृषि विकास, औद्योगिक विकास र स्रोत व्यवस्थापनका क्षेत्रमा उनी गहिरो अध्ययन र अनुसन्धानमा संलग्न छन्।
सरकारी र गैरसरकारी संस्थाहरू, निजी उद्योग र शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान दिएका परियारले आईडीई नेपालमा ग्रामीण विकास, कृषि र गरिबी निवारणमा काम गरेका थिए र पछि वरिष्ठ सल्लाहकारसमेत बने।
त्यसैगरी, उनले संयुक्त राष्ट्रसंघको फ्रेमवर्क कन्भेन्सनमा नेपालको प्रतिनिधिको रूपमा योगदान पुर्याएका छन्। कृषि, जलवायु, गरिबी निवारण र आर्थिक वृद्धि जस्ता क्षेत्रमा उनी नेपालसहित ३० भन्दा बढी देशमा अध्ययन, अनुसन्धान र भ्रमण गरिसकेका छन्।