शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा पदभार ग्रहण गर्दै पहिलो निर्णय अघि नपुग्दै स्पष्ट संकेत दिए कि केवल समिति बनाएर काम अघि बढ्ने होईन, ठोस कार्यनीति र आर्थिक स्रोत सुनिश्चितता हुनुपर्छ।
मन्त्रालयका कर्मचारीहरूले नयाँ थिंक ट्यांक समिति गठन गर्नका लागि हस्ताक्षरको प्रस्ताव राखेका थिए। कर्मचारीहरूले भने, “विज्ञान प्रविधिको क्षेत्रमा रहेका विज्ञहरूको सुझावमा आधारित नीति र कार्यक्रमहरू तयार पार्न हामीले चारवटा विषयमा समिति गठन गर्ने निर्णय गरेका छौं।”
तर मन्त्री पुनले यसमा आपत्ति जनाउँदै भने, “समिति त बन्छ, बनाउँला। तर समिति मात्र बनाएर भएन। पहिलो कुरा आर्थिक स्रोत खोज्नुपर्छ। पैसा छैन भनेर अहिलेसम्म रोकिएको हो। स्रोत खोजौं, तब मात्र काम अघि बढ्छ।”
उनले थपे, “मैले विज्ञान मन्त्रालय धेरै वर्षदेखि देखेको छु। अहिलेसम्म ठोस काम भएको छैन। ६ महिनामा के काम होला र? तर केही त काम होस्। नाममात्रको समिति बनाउने होइन, पहिला एउटाबाट सुरु गरौं र त्यो काम ठोस होस्।”
मन्त्री पुनले भिजिटिङ कार्डमै सीमित हुने कामको आलोचना गर्दै स्पष्ट पारे कि साना भए पनि ठोस र प्रभावकारी काम हुनुपर्छ। “एउटा भिजिटिङ कार्डमा मात्रै लेखिने कुरा होइन, ठोस काम होस्,” उनले भने।