पोर्चुगलको राजधानी लिस्बनमा रहेको १४० वर्ष पुरानो प्रसिद्ध पर्यटक आकर्षण ग्लोरिया फनिकुलर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
आपतकालीन सेवाका अनुसार दुर्घटनामा घाइते भएका १८ जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा केही विदेशी नागरिक समेत रहेका छन् तर उनीहरूको परिचय अझै पुष्टि भएको छैन।
राष्ट्रिय शोक घोषणा
लिस्बनका मेयर कार्लोस मोएडासले बुधबार राति अस्पताल पुगेर घटनालाई "सहरका लागि दुःखद घडी" भनेका छन्। सरकारको मन्त्रीपरिषद् बैठकमा मेयरलाई समेत सहभागी गराउँदै बिहीबार एक दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले प्रभावित परिवारप्रति “समवेदना र एकजुटता” व्यक्त गरेका छन्।
ब्रेक फेल भएको आशंका
दुर्घटना लिस्बनको अभेनिडा दा लिबरदादे नजिक साँझ ६:०५ बजे भएको हो। प्रत्यक्षदर्शीहरूले फनिकुलरको ब्रेक फेल भएपछि यो तीव्र गतिमा तल झरेर भवनमा ठोक्किएको बताएका छन्। उद्धारकर्ताले धेरै यात्रुलाई भग्नावशेषबाट मुक्त गरेका थिए।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा पहेंलो रङको गाडी उल्टिएर चकनाचुर भएको देखिन्छ। एक प्रत्यक्षदर्शीले भने, “यो नियन्त्रणविहीन थियो, ब्रेक नै थिएन। भवनमा ठोक्किँदा बक्सजस्तै भत्कियो।”
अनुसन्धान सुरु
घटनापछि प्रहरी, आपतकालीन उद्धारकर्मी र प्राविधिक टोली लामो समयसम्म घटनास्थलमा खटिएका थिए। दुर्घटनाको कारणबारे भने अझै स्पष्ट नभएको बताइए पनि, रेलमार्गमा प्रयोग भएको तार खुकुलो भई नियन्त्रण गुमेको आशंका गरिएको छ।
लिस्बनको सार्वजनिक यातायात कम्पनी कारिस का प्रमुखले घटनास्थल भ्रमण गर्दै, चार वर्षे ठूला मर्मत, दुई वर्षे अन्तरिम परीक्षण र नियमित दैनिक–साप्ताहिक–मासिक जाँच गरिएको दाबी गरेका छन्। तर प्रत्यक्षदर्शीहरूका अनुसार, ब्रेकिङ प्रणाली नै बिग्रिएको हुनसक्छ।
ऐतिहासिक फनिकुलर
ग्लोरिया फनिकुलर १८८५ मा सञ्चालनमा आएको हो र तीन दशकपछि विद्युतीकरण गरिएको थियो। यसले रेस्ताउराडोरेस स्क्वायरदेखि बाइरो आल्टो (उच्च क्षेत्र) सम्मको २७५ मिटर दुरी करिब तीन मिनेटमा पार गर्छ।
लिस्बनको भीडभाड र उकालो सडकमा दैनिक प्रयोग हुने यो फनिकुलर स्थानीयवासीका लागि महत्त्वपूर्ण यातायात साधन हो भने पर्यटकका लागि आकर्षणको प्रमुख केन्द्र हो। गर्मीयामको अन्त्यसँगै लिस्बनमा पर्यटकहरूको भीड निकै हुने भएकाले दुर्घटनाले अझ ठूलो प्रभाव पारेको छ।
अन्तर्राष्ट्रिय प्रतिक्रिया
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेअर लेयेनले पीडित परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले “भयानक दुर्घटना देखेर म स्तब्ध भएको छु” भन्दै समवेदना प्रकट गरेका छन्।