दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले वीरगन्जसहित विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० भदौदेखि देशभरि १५१ स्थानमा सहुलियत दरमा दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने भएको छ।
सुपथ मूल्य पसलमार्फत उपभोक्ताले नुन, चामल, तेल, दाल, पिठो, चिउरा, जिउँदो खसी–बोका लगायतका वस्तुमा छुट पाउनेछन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ, तेल, आटा, पिठो, मैदामा ७ रुपैयाँ, जिउँदो खसी, बोका र च्याङग्रामा १० रुपैयाँ छुट उपलब्ध हुनेछ। रैथाने उत्पादन जस्तै कर्णालीको सिमी, फापर, चिनो, कागुनो, उवा र जुम्ली मार्सीजस्ता वस्तुमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ।
साल्ट ट्रेडिङ कर्पोरेसनले नुनमा २, चिनीमा ५ र तेल, चिउरा, पिठो, मैदा तथा दालमा ७ रुपैयाँ प्रतिकिलो छुट दिने जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभर ४५ जिल्लाका १११ स्थानमा पसल सञ्चालन गर्ने योजना बनाएको छ। कर्णालीमा सबैभन्दा बढी ४२, सुदूरपश्चिम २८, लुम्बिनी १५, कोशी प्रदेश ११, गण्डकी ७ र बागमती ५ स्थानमा पसल सञ्चालन हुनेछन्।
यो सुविधा पर्सा जिल्लाको प्रमुख बजार वीरगञ्जमा पनि उपलब्ध हुनेछ। मधेसमा सञ्चालन हुने अन्य दुई प्रमुख पसल सिरहा लहान र धनुषा जनकपुरमा रहेका छन्। यसले चाडपर्वका बेला उपभोक्तालाई बजार मूल्यवृद्धिबाट केही राहत दिन मद्दत गर्ने विश्वास गरिएको छ।
त्यस्तै साल्ट ट्रेडिङले देशभर ४० बिक्री स्थल राख्ने योजना बनाएको छ। काठमाडौं उपत्यकामा सात मुख्य स्थानमा पसल सञ्चालन हुनेछन् भने उपत्यका बाहिर पूर्व बिर्तामोड, विराटनगरदेखि मधेसका राजविराज, लहान, जनकपुर र वीरगञ्जसम्म पसल स्थापना गरिने छ। साथै, ग्राहकको सहज पहुँचका लागि तीन घुम्ती पसल पनि सञ्चालनमा आउने छन्।