अष्ट्रेलियाको प्रख्यात फास्ट बलर मिचेल स्टार्कले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई विदा लिने निर्णय गरेका छन्। ३५ वर्षीय स्टार्कले आफ्नो करिअरको अन्तिम चरणमा टेस्ट र एकदिवसीय क्रिकेटलाई प्राथमिकता दिने उद्देश्यले यो घोषणा गरेका हुन्। उनले पछिल्लो पटक गत टि–२० विश्वकप (अमेरिका र वेस्ट इन्डिज) मा खेलेका थिए।
स्टार्कले २०१२ मा पाकिस्तानविरुद्ध डेब्यु गर्दै ६५ टि–२० खेल खेलेका थिए। उनले यस अवधिमा ७.७४ को इकोनोमी रेटसहित ७९ विकेट लिएका छन्, जुन अष्ट्रेलियाका लागि एडम जाम्पापछि दोस्रो सर्वाधिक हो। उनले सन् २०१६ मा चोटका कारण गुमाउनु परेको बाहेक पाँचवटा टि–२० विश्वकपमा सहभागिता जनाएका थिए। दुबईमा आयोजित २०२१ को विश्वकप जित्ने क्रममा उनी अष्ट्रेलियाको महत्वपूर्ण सदस्य बनेका थिए।
स्टार्कले टि–२० अन्तर्राष्ट्रिय क्रिकेटलाई विदा गरे पनि अन्य दुई अन्तर्राष्ट्रिय ढाँचा (टेस्ट र एकदिवसीय) मा निरन्तरता दिने बताएका छन्। त्यस्तै उनले आईपीएल र अन्य घरेलु प्रतियोगितामा पनि खेलिरहने इच्छा व्यक्त गरेका छन्।
हालै अष्ट्रेलियाका अन्य वरिष्ठ खेलाडीहरूले पनि विभिन्न ढाँचाबाट सन्यास लिइसकेका छन्। डेभिड वार्नरले गत वर्ष सम्पूर्ण अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए भने यो वर्ष स्टीभ स्मिथ, ग्लेन म्याक्सवेल र मार्कस स्टोइनिसले एकदिवसीय क्रिकेटलाई विदा गरेका छन्।
स्टार्कले भनेका छन्, “टेस्ट क्रिकेट सधैं मेरो प्रमुख प्राथमिकता रहँदै आएको छ। मैले खेलेका प्रत्येक टि–२० खेलहरू रमाइलो भएका छन्, विशेषगरी २०२१ को विश्वकप असाधारण अनुभव थियो। आगामी भारतीय टेस्ट सिरिज, एशेज र २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै टि–२० बाट सन्यास लिनु मेरो लागि उपयुक्त निर्णय हो।”
अष्ट्रेलियाली क्रिकेटका चयन समिति अध्यक्ष जर्ज बेलीले भनेका छन्, “मिचेल आफ्नो टि–२० करिअरमा गर्व गर्न सक्छन्। उनी २०२१ को विश्वकप जित्ने टोलीका अभिन्न हिस्सा मात्र नभई खेललाई निर्णायक मोड दिने क्षमता भएका बलर पनि हुन्।”