कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ भने करिब ३० जना विभिन्न अस्पतालमा उपचाररत छन्। कुवेतस्थित नेपाली राजदूतावासले यसबारे पुष्टि गरेको छ।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० भन्दा बढी बिरामी परेका थिए। कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन्।
अवैध मदिरा उत्पादनमा प्रहरीकाे छापा, ६७ जना पक्राउ
कुवेतको आन्तरिक मन्त्रालयले घटनापछि सञ्चालन गरेको सुरक्षा अभियानमा मेथानोल उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका मध्ये केही नेपाली नागरिक पनि छन्। अनुसन्धानका क्रममा साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरिएको थियो, जसको बयानका आधारमा अन्य नेपालीहरू पनि पक्राउ परेका थिए। यसबाहेक भारतीय र एक बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको थियो। मुख्य अभियुक्तहरूलाई कुवेती सञ्चारमाध्यमले हत्याको आरोप लाग्न सक्ने बताएका छन्।
सुरक्षा निकायले अभियानका क्रममा ६ वटा अवैध मदिरा कारखाना नियन्त्रणमा लिएको छ। साथै देशभरका आवासीय र औद्योगिक क्षेत्रमा अवैध मदिरा बनाउने कम्पनी र बसोबाससम्बन्धी उल्लङ्घनमा संलग्न २५८ जनालाई पक्राउ गरिएको छ।
उपचारपछि सबैलाई देश निकाला गरिने
कुवेती अधिकारीहरूले विषाक्त मदिरा सेवनपछि अस्पतालमा भर्ना भएका सबै आप्रवासीलाई उपचारपछि देश निकाला गर्ने घोषणा गरेका छन्। आवश्यक अनुसन्धानपछि उनीहरूलाई पुनः कुवेत प्रवेशमा प्रतिबन्ध लगाइनेछ। कुवेतमा मदिराको उत्पादन, सेवन र बिक्रीमा पूर्ण प्रतिबन्ध छ।
नेपाली समुदायमा चिन्ता
कुवेतमा हाल १ लाख ६० हजार नेपाली कार्यरत छन्। यो घटनाले नेपाली समुदायको प्रतिष्ठामा नकारात्मक असर परेको छ। पछिल्लो समय नेपाली कामदारहरूको अवैध मदिरा उत्पादन, सेवन र लागूऔषधसँग सम्बन्धित गतिविधिमा संलग्न हुने खबरले कुवेतमा नेपालीहरूको छविमा असर पुगेको छ।
कुवेतस्थित नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएन)ले पनि मदिरा उत्पादन, सेवन र बिक्रीजस्ता गैरकानुनी कार्य नगर्न नेपाली समुदायलाई सचेत गराएका छन्। कुवेतका जेलहरूमा रहेका नेपालीमध्ये ५० प्रतिशतभन्दा बढी रक्सी र लागूऔषधसम्बन्धी मुद्दामा परेका छन्।