अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ।
डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड–२ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने एनटी स्ट्राइकको कप्तानी केन रिचार्डसनको हातमा छ।
एनटी स्ट्राइकले सन् २०२३ मा सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो। यस पटक पनि टोलीमा बिग ब्यासको अनुभवसम्पन्न खेलाडीहरूको सहभागिता रहेको छ।
टोलीमा डार्सी शर्ट मुख्य आकर्षणका रूपमा रहेका छन्। पावरप्लेमा खेल पल्टाउने क्षमताका कारण चर्चित उनी अस्ट्रेलियाको सिनियर टोलीबाट टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। त्यसैगरी जेक वेदराल्डले सेफिल्ड शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै अस्ट्रेलिया ‘ए’का लागि शतक प्रहार गरेका छन्। उनलाई आगामी एशेजमा टेस्ट डेब्यू गर्न सक्ने सम्भावनाको चर्चा पनि छ।
जोर्डन सिल्क टोलीका अर्का स्टार खेलाडी हुन्। तीन पटक बिग ब्यास जितिसकेका उनी आक्रामक ब्याटिङसँगै उत्कृष्ट फिल्डिङका लागि परिचित छन्। बलिङतर्फ कप्तान रिचार्डसन अनुभवी पेस बलरका रूपमा छन्, जसले अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका छन्।
२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्नेछन्। नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ।