नेपाल प्रहरीले ‘नेप्से एआई’ (Nepse AI) नामक मोबाइल एपमार्फत लाखौँ रुपैयाँ ठगी भइरहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी शेयर बजारबाट अत्यधिक नाफा कमाउने प्रलोभन देखाएर उक्त एप डाउनलोड गराइने र त्यसपछि पीडितको मोबाइललाई रिमोट कन्ट्रोलमा लिएर बैंक खाताबाट रकम चोरी गर्ने कार्य भइरहेको छ।
मंगलबार जारी विज्ञप्तिमा सीआईबीले फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा फैलिएका भ्रामक विज्ञापनको पछि नलाग्न आग्रह गरेको छ। ब्युरोका अनुसार, ठगी समूहले एप इन्स्टल गराएपछि ‘रिमोट सेसन’ सुरु गरी पीडितको मोबाइलको सम्पूर्ण नियन्त्रण लिनुका साथै बैंक खातामा रहेको रकम अन्यत्र पठाउने र प्रमाण मेटाउन मोबाइलका सम्पूर्ण डेटा र एपहरू नष्ट गर्ने गरेको पाइएको छ।
ब्युरोले एक उदाहरण प्रस्तुत गर्दै, ‘जोन डोई’ (सांकेतिक नाम) नामक व्यक्तिले फेसबुकको विज्ञापनबाट ‘Nepse AI’ एप डाउनलोड गरेपछि उनको बैंक खाताबाट २८ लाख ६१ हजार १ रुपैयाँ ठगिएको जनाएको छ। रकम चोरी भएपछि उनको मोबाइलको स्क्रिन केही समय ब्ल्याङ्क भएको र मोबाइलमा रहेका सम्पूर्ण डेटा तथा एपहरू मेटिएको पनि उजुरीमा उल्लेख छ।
यस्ता वित्तीय अपराधबाट बच्न ब्युरोले सर्वसाधारणलाई निम्न सावधानी अपनाउन सुझाव दिएको छ:
- टु–फ्याक्टर अथेन्टिकेसन (Two-factor Authentication) प्रयोग गर्ने।
- पासवर्ड नियमित रूपमा परिवर्तन गर्ने।
- विज्ञापन वा अपरिचित लिङ्कबाट एप इन्स्टल नगर्ने।
- AnyDesk, TeamViewer जस्ता रिमोट एक्सेस एपमार्फत अपरिचित व्यक्तिलाई डिभाइसको नियन्त्रण नदिने।
- आधिकारिक स्रोत (Google Play Store, iOS App Store) बाट मात्र एप डाउनलोड गर्ने।
यस्तै, यस्तो कुनै घटना घटेमा वा शंका लागेमा तत्काल सम्बन्धित बैंक, नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा खबर गर्न पनि अनुरोध गरिएको छ।