कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि र उनीहरूलाई पत्रकारितामा अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आइतबार मुख्यमन्त्री निवासमा सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेश पदाधिकारीहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले प्रदेश सरकारले आफ्ना स्रोत–साधनको सीमा भित्र पत्रकार महिलाको हितका लागि काम गर्ने आश्वासन दिए।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कानुनमार्फत स्थापना गर्न लागेको पत्रकारिता प्रतिष्ठानमार्फत पनि पत्रकारको हितमा कार्य गर्ने तयारी भइरहेको उल्लेख गर्दै भने, “लैङ्गिक मैत्री कानुन बनाउन, सञ्चार क्षेत्रमा महिलाका लागि सुरक्षित वातावरण निर्माण गर्न र आर्थिक सबलीकरणका लागि हाम्रो तर्फबाट पहल हुनेछ। हामी सिंगो पत्रकारिता क्षेत्रमा काम गर्नेछौं, त्यसमा पनि महिलालाई विशेष प्राथमिकता दिनेछौं।”
कार्यक्रममा सञ्चारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाका विविध मुद्दा समेटिएको ज्ञापनपत्र हस्तान्तरण गरिन्। उनले समावेशी समाज निर्माणका लागि लैङ्गिक मैत्री कानुनको पैरवी गर्दै आएको र स्थापनाकालदेखि नै सञ्चारमाध्यममा महिलाका मुद्दा प्रवाहिकरण गर्न निरन्तर पहल गर्दै आएको जानकारी दिइन्।
खनालका अनुसार हाल सञ्चारिका समूहले पत्रकार महिलालाई निर्णयक तहमा पुर्याउन पूर्वाधार निर्माण, क्षमता विकास र दक्षता अभिवृद्धिका पक्षमा वकालत गर्दै आएको छ। उनले भनिन्, “हामी विश्वस्त छौं कि प्रदेश सरकारले आगामी दिनमा सञ्चारिका समूह नेपाललाई आवश्यक सहयोग गर्नेछ।”
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सञ्चारिका समूहकी कोषाध्यक्ष साजना तामाङ, कोशी प्रदेश अध्यक्ष तारा आचार्य, मोरङ जिल्ला अध्यक्ष बिनु तिमिल्सिना लगायतका पदाधिकारीहरू सहभागी थिए।