राजनीतिक खबरदारीका रूपमा ‘०८४ मा महिला सबै ठाउँमा पहिला’ भन्ने उद्देश्यसहित अन्तरपुस्ता महिलावादी मञ्चले देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ। उक्त अभियानअन्तर्गत महिला जनचेतना केन्द्रले आइतबार मेचीनगरमा कार्यक्रम आरम्भ गरेको हो।
महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीका अनुसार मेचीनगर नगरपालिका कार्यालय, ईटाभट्टाको गेटबाट हस्ताक्षर संकलन कार्य प्रारम्भ गरिएको हो। कार्यक्रममा मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेती, नगरपालिका कर्मचारी, स्थानीय बासिन्दा, राजनीतिक दलका नेता तथा कार्यकर्ताले हस्ताक्षर गर्दै अभियानलाई समर्थन जनाएका थिए।
नगरका १५ वटै वडासहित संघ–संस्था र स्थानीय निकायमा हस्ताक्षर अभियान सञ्चालन गरिने भएको छ। पाँच वर्षे योजनाअन्तर्गत तेस्रो वर्षको रूपमा सन २०२५ भरि यो अभियान जारी रहनेछ।
प्रधानका अनुसार पहिलो वर्ष (२०२३) मा मेची–महाकाली यात्रा गरी नवलपुरमा भव्य कार्यक्रम सम्पन्न गरिएको थियो। दोस्रो वर्ष (२०२४) मा बस, गाडी, जिप, ट्याक्सी, भ्यान, ट्याम्पो, सिटी रिक्सा लगायतका यातायातका साधनमार्फत ‘यात्रै यात्रा’ अभियान सञ्चालन गरिएको थियो। चौथो वर्ष (२०२६) मा देशभर संकलित हस्ताक्षर राजनीतिक दलका केन्द्रीय कार्यालयमा बुझाउने योजना छ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङका अनुसार अभियानको उद्देश्य न्यायिक र समतामूलक समाज निर्माणमा टेवा पुर्याउने, पछाडि पारिएका समुदाय र महिलाको आवाज बुलन्द गर्ने, राष्ट्रको हरेक तहमा महिलालाई निर्णायक भूमिकामा पुर्याउने, आत्मसम्मान र आत्मनिर्भरता अभिवृद्धि गर्ने हो।
‘घर चलाउन सक्नेले देश हाक्न सक्छ,’ संस्थापक अध्यक्ष प्रधानले भनिन्, ‘आगामी ०८४ मा पचास प्रतिशत महिलालाई जनप्रतिनिधि बनाउनुपर्ने राजनीतिक दललाई यो अभियान दबाब हो। मेयर, गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायतका पदमा महिलालाई उम्मेदवार बनाउन र टिकट दिन बाध्य पार्ने हाम्रो उद्देश्य हो।’