सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नागरिकको गुनासा सुन्न र समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ सञ्चालनमा ल्याएको छ। मन्त्रालयले प्रवाह गर्ने सबै प्रकारका सेवा तथा सोको प्रक्रिया र नतिजासम्बन्धी गुनासाको सुनुवाइ र समाधान गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो।
सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सेवाग्राहीलाई तत्काल प्रतिक्रिया दिने र प्रक्रियागत ढिलाइ हटाउनेमा केन्द्रित भएर नयाँ प्रणाली लागू गरिएको बताइन्।
उनले भनिन्, “नागरिकका गुनासा सुन्ने र तत्काल समाधान गर्ने कामलाई अब औपचारिक र प्रणालीगत बनाइएको छ। यसबाट नागरिकको भरोसा बढ्नेछ।”
केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित गुनासाहरूको सङ्कलन, वर्गीकरण र सम्बोधन गर्नेछ। यसका लागि उपसचिवको नेतृत्वमा गुनासो व्यवस्थापन इकाई गठन गरिएको छ।
सामान्य प्रकृतिका सूचना वा जानकारीसम्बन्धी गुनासाहरू गुनासो सहजकर्ताद्वारा तत्काल सम्बोधन गरिनेछ। तत्काल सम्बोधन गर्न नसकिने गुनासा सम्बन्धित शाखामा पठाइनेछ र शाखा प्रमुखले सम्भव भएसम्म तुरुन्त समाधान गर्ने व्यवस्था मिलाइएको छ। शाखा प्रमुखले पनि तत्काल सम्बोधन गर्न नसकेमा तीन दिनभित्र महाशाखा प्रमुखमार्फत समाधान गरिनेछ।
महाशाखा प्रमुखले सात दिनभित्र अन्य महाशाखा प्रमुख तथा मन्त्रालयका सचिवसँग समन्वय गरी गुनासा सम्बोधन गर्नेछन्। नीतिगत निर्णय आवश्यक हुने गुनासाहरू उच्च व्यवस्थापन समूहको बैठकमार्फत छलफल गरी मन्त्रीस्तरीय निर्णयअनुसार एक महिनाभित्र समाधान गरिनेछ।
गुनासो व्यवस्थापन केन्द्रमा उपसचिव भुपेन्द्र सापकोटाको संयोजकत्वमा शाखा अधिकृत लोकबहादुर लामा र नायव सुब्बा नवराज पराजुली कार्यरत रहनेछन्।