संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयहरूमध्ये बारा र पर्साका १२ वटा विद्यालयलाई ‘नमूना विद्यालय’को रूपमा छनोट गरेको छ।
मन्त्रालयले 'नमूना विद्यालय कार्यक्रम सञ्चालन कार्यविधि, २०८२/८३' अनुसार विद्यार्थी संख्या, शैक्षिक नतिजा, समावेशिता, भौतिक पूर्वाधार, व्यवस्थापन लगायतका मापदण्डका आधारमा विद्यालयहरू छनोट गरेको हो।
पर्सा जिल्लाबाट पाँच विद्यालय छनोट भएका छन्। ती विद्यालयहरूमा वीरगन्ज महानगरपालिकाको नृसिंह माध्यमिक विद्यालय, पोखरिया नगरपालिकाको जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि, बहुदरमाई नगरपालिकाको देवनन्दन देवराज मावि, ठोरी गाउँपालिकाको सरस्वती मावि र सखुवा प्रसौनी गाउँपालिकाको दीपनारायण आदर्श मावि रहेका छन्।
बारा जिल्लाबाट भने सात विद्यालय छनोट भएका छन्। ती विद्यालयहरूमा जीतपुरसिमरा उपमहानगरपालिकाको नेपाल राष्ट्रिय मावि जीतपुर र नेपाल राष्ट्रिय मावि बकुलिया, आदर्शकोतवाल गाउँपालिकाको रामचरित्र मावि जयनगर, निजगढ नगरपालिकाको गौरीशंकर मावि निजगढ, महागढीमाई नगरपालिकाको गढीमाई महेन्द्र मावि बरियापुर, कलैया उपमहानगरपालिकाको दुर्गा मावि बैरिया र कोल्हवी नगरपालिकाको नेपाल राष्ट्रिय मावि सपही छन्।
मन्त्रालयका अनुसार, छनोट भएका विद्यालयहरूमा अब सूचना प्रविधिको प्रयोग (ICT), डिजिटल कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, खेलकुद र सांस्कृतिक क्रियाकलापका लागि आवश्यक पूर्वाधार विकास गरिनेछ।
सरकारको यस कदमले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ। साथै, यसले निजी विद्यालयमाथिको निर्भरता कम गर्दै सामुदायिक विद्यालयप्रतिको जनविश्वास बढाउने मन्त्रालयको विश्वास छ।