नेपालले पहिलो पटक आईसीसीको ठुलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको छ। सन् २०२६ मा हुने महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको तालिका अनुसार, उक्त प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ। प्रतियोगितामा १० राष्ट्र सहभागी हुनेछन्, जसबाट शीर्ष चार टोलीले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
यो प्रतियोगिता हालसम्म नेपालले आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ।
अहिलेसम्म छनोट भइसकेका टिमहरू
सन् २०२४ को महिला टी–२० विश्वकपमा भाग लिएका बंगलादेश र आयरल्याण्डले ग्लोबल छनोटका लागि स्वतः स्थान बनाएका छन्। एशिया क्षेत्रीय छनोटबाट थाइल्याण्ड र नेपाल छनोट भइसकेका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुनिश्चित गरिसकेको छ।
अब बाँकी रहेका पाँच स्थानका लागि अफ्रिका र युरोप क्षेत्रबाट दुई-दुई तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोली छनोट हुनेछ। यी टोलीहरू आ–आफ्नो क्षेत्रीय छनोट प्रतियोगिता सकिएपछि तय हुनेछन्।
समूह चरण, सुपर सिक्स र फाइनल
नेपालमा हुने ग्लोबल छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि उत्कृष्ट टोलीहरू सुपर सिक्स चरणमा पुग्नेछन्, र अन्ततः दुई उत्कृष्ट टोलीबीच फाइनल खेल हुनेछ।
प्रतियोगिताको विस्तृत खेल तालिका तथा स्थानहरू आईसीसीले पछि सार्वजनिक गर्ने जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्र बनाउने जनाएको छ। प्रतियोगिता नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान र पूर्वाधार विकासका लागि ठूलो अवसर हुने विश्वास गरिएको छ।