‘बरु वडा अध्यक्ष हुन्छु, तर उपमा कहिल्यै बस्दिन।’ यो आवाज हो रोल्पा नगरपालिकाकी उपप्रमुख गिता आचार्यको। बुधवार जिल्ला समन्वय समितिको हलमा आयोजित देशव्यापी महिलावादी अनुपम अभियान सम्बन्धी कार्यक्रम महिलाको अर्थपूर्ण राजनीतिक सहभागिताको आवाजले खचाखच भरिएको थियो।
कार्यक्रममा ७ वटै स्थानीय तहका उपप्रमुखहरूको उपस्थितिले स्पष्ट संकेत गर्यो– महिलाहरू अब ‘उप’ को सीमित भूमिकामा सन्तुष्ट छैनन्। उनीहरू निर्णायक भूमिकाको माग गर्दै छन्।

कार्यक्रमको सुरुवातमा नागरिक आवाज का प्रमुख डा. सुसन रिजालले संविधानले सुनिश्चित गरेको महिलाको अर्थपूर्ण सहभागिता व्यवहारमा लागू हुन नसकेको कारण अनुपम अभियान सुरु गरिएको बताए। अनुपम अभियानकी परिकल्पनाकार तथा सामाजिक अभियन्ता रिता थापाले अभियानको उद्देश्य स्पष्ट पार्दै भनिन्, “२०८० देखि २०८४ सम्म ‘महिला नै पहिला’ भन्ने नारासहित अभियान सञ्चालन गरिएको हो, जसले न्यायिक समतामूलक समाज निर्माणमा टेवा पुर्याउनेछ।”
कार्यक्रममा बोल्दै सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष मिना थापाले भनिन्, “जनप्रतिनिधि भएर २ वर्ष भइसक्यो, समस्या धेरै छन्। बोल्न नसके पनि सबै महिला जनप्रतिनिधिको पीडा उस्तै छ। अबको निर्वाचनमा महिलालाई नै नेतृत्वमा ल्याउनु पर्छ।”

कार्यक्रममा अन्य वक्ताहरू– लुङग्री गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी गुरुङ, शिक्षक डिबी टुहुरो, पत्रकार महेश न्यौपाने, कांग्रेस उपसभापति कविता उपाध्याय, महिला नेतृ लालकुमारी वलीलगायतले अभियानलाई समर्थन जनाउँदै महिलाको निर्णायक भूमिकामा पहुँच बढाउन आग्रह गरे।
उपस्थिति मात्र नभई महिलाहरूको अनुभव, आकांक्षा र प्रतिरोधको आवाजले भरिएको कार्यक्रममा बोल्नेहरूले स्पष्ट रुपमा बताए– ‘गठबन्धन’को नाममा महिलाको सहभागिता सीमित पार्ने प्रयास बन्द हुनुपर्छ।
नेपालको पछिल्लो स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये मात्र २५ वटा स्थानीय तहमा महिलाले प्रमुख पद पाएको तथ्यांक प्रस्तुत गर्दै वक्ताहरूले औपचारिक समानताको सट्टा व्यवहारिक समानताको माग गरे।
सातै प्रदेशमा पुरुष प्रदेश प्रमुख, प्रत्यक्षतर्फको प्रतिनिधिसभा निर्वाचनमा ९ मात्र महिला निर्वाचित, प्रधानमन्त्रीको कुर्सीमा अहिलेसम्म महिलाको पहुँच नहुनु जस्ता यथार्थलाई उदाहरण दिँदै अनुपम अभियानले महिलाविरुद्धको संरचनागत भेदभाव अन्त्यको पक्षमा आवाज बुलन्द गर्यो।
कार्यक्रममा रोल्पा जिल्लाका महिला नेतृहरू, पूर्व जनप्रतिनिधिहरू, पत्रकार, शिक्षक, महिला अधिकारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अनुपम अभियानले अबको निर्वाचनमा महिलालाई निर्णायक स्थानमा पुर्याउने मात्र नभई, राजनीतिक नेतृत्वमा महिलाको उपस्थिति सशक्त र अर्थपूर्ण बनाउन नयाँ विमर्श सुरु गरेको छ।