नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरा सत्य नभएको बताएका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शाक्यले चितवनमा देखिएको विद्युत् आपूर्तिमा अवरोध नियमित मर्मत तथा सञ्जाल स्तरोन्नतिको प्रक्रिया भएको स्पष्ट पारे। “लोडसेडिङ नभई मर्मतका लागि विद्युत् आपूर्ति रोकिएको हो, यसलाई गलत तरिकाले व्याख्या गरिएको छ,” उनले भने।
शाक्यका अनुसार, चितवनस्थित सबस्टेशन अपग्रेड गर्नका लागि पुराना कन्डक्टरहरू फेर्ने कार्य भइरहेको छ। “पुराना कन्डक्टरले हालको विद्युत् लोड धान्न नसक्ने भएपछि नयाँ कन्डक्टर जडान गर्न लागिएको हो,” उनले बताए।
यसैबीच नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रले ६ घण्टासम्मको विद्युत् अवरोध (लोडसेडिङ) हुने सूचना सार्वजनिक गरेको थियो। सो सूचनामा नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा आपूर्ति प्रभावित हुने जनाइएको थियो।
वितरण केन्द्रका अनुसार भरतपुर १३२/३३ केभी सबस्टेशनबाट आपूर्ति हुने ३३ केभी डग कन्डक्टरले अधिकतम ३०० एम्पिएर विद्युत् मात्र वहन गर्न सक्ने क्षमता राख्छ। तर अहिलेको समयमा अत्यधिक गर्मी, सिँचाइको आवश्यकता र रोपाईंको चापका कारण उक्त लाइनमा ४५० एम्पिएरसम्म लोड पुगेको हुँदा लाइनले लोड धान्न नसकेर आपूर्ति रोक्नु परेको हो।
यस समस्याको दीर्घकालीन समाधानका लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनबाट वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइसकेको प्राधिकरणले जनाएको छ।
त्यसैगरी, कार्यकारी निर्देशक शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधान गर्न गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि लम्ब्याइएको जानकारी पनि दिएका छन्। समितिको निर्णयपश्चात् बक्यौता असुल गर्ने प्रक्रिया सुरु गरिने उल्लेख गर्दै उनले भने, “यदि बक्यौता तिर्न नसक्ने हो भने सम्बन्धित लाइन काटिनेछ।”