वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच खानेपानी सेवा विस्तारसम्बन्धी ऐतिहासिक समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको छ। लामो समयदेखि खानेपानीको अभाव र गुणस्तरहीनताको समस्या झेल्दै आएका महानगरवासीहरूका लागि यो सम्झौता एक महत्वपूर्ण कोशेढुङ्गा भएको विश्वास व्यक्त गरिएको छ।
सम्झदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले हस्ताक्षर गरेका हुन्। सम्झौतामा हस्ताक्षरसँगै आज साउन १ गतेदेखि यो सम्झदारी औपचारिक रूपमा लागू भएको छ।
मेयर सिंह र मन्त्री यादवको विशेष पहल
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहल र नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा यो समझदारी सम्पन्न भएको हो।
मेयर सिंहले भने, “यो समझदारीले महानगरभित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरेका छौं।”
दीर्घकालीन समाधानका उद्देश्यहरू
सम्झदारीपत्रका प्रमुख उद्देश्यहरूमा निम्न विषयहरू समावेश छन्:
- जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानी समस्याको दीर्घकालीन समाधान खोज्ने
- नयाँ जडान प्रक्रियालाई सरल, छिटो र पारदर्शी बनाउने
- खानेपानीको गुणस्तर र सेवा पहुँचमा समग्र सुधार गर्ने
- जनस्वास्थ्यमा सुधार ल्याउने र पानीजन्य रोगहरूको जोखिम न्यूनीकरण गर्ने
सेवा विस्तार र भूमिकाको बाँडफाँड
सम्झौताअनुसार नेपाल खानेपानी संस्थानले निम्न जिम्मेवारीहरू निर्वाह गर्नेछ:
- नयाँ धारा जडान
- पाइपलाइन विस्तार र मर्मत
- जनचेतना अभिवृद्धि कार्यक्रम
- गुनासो समाधान
- महसुल प्रणाली मिलाउने
महानगरपालिकाले संस्थानलाई आवश्यक धरौटी रकम अग्रिम रूपमा खातामा जम्मा गरी मासिक हिसाब मिलाउनेछ। साथै सेवा शुल्क व्यवस्थापन, नियम–कानुनबारे जानकारी दिने, र महसुल भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने जिम्मेवारी महानगरको हुनेछ।
संस्थानले बीरगञ्ज शाखामा आवश्यक जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
सम्झौताका अवधि र विवाद समाधान
सम्झौता साउन १, २०८२ देखि २०८४ पौष मसान्तसम्म लागू हुनेछ। आवश्यक भएमा पुनः नवीकरण गर्न सकिने व्यवस्था पनि सम्झदारी पत्रमा उल्लेख छ।
यदि कार्यान्वयनमा कुनै विवाद उत्पन्न भएमा दुवै पक्षबीच आपसी छलफल र वार्ताबाट समाधान गरिने स्पष्ट प्रावधान राखिएको छ।
सम्बन्धित पक्षहरूको धारणा
खानेपानी मन्त्री प्रदीप यादवले भने, “खानेपानीको चरम अभाव दिनप्रतिदिन बढ्दै गएको छ। जनजीवनमा गम्भीर असर परेको अवस्थामा यो समझदारी दीर्घकालीन समाधानतर्फको महत्वपूर्ण प्रयास हो।”
महानगर प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले खानेपानी समस्याको समाधान वीरगञ्जवासीको खानेपानी अधिकार सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले संस्थान वीरगञ्जवासीलाई गुणस्तरीय सेवा दिन पूर्णतः प्रतिबद्ध रहेको जानकारी दिए।
महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले भने, “यो समझदारीले महानगरको दिगो विकासमा योगदान पुर्याउनेछ।”
उच्च उपस्थितिमा सम्झौतामा हस्ताक्षर
सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा खानेपानी मन्त्रालयका मन्त्री प्रदीप यादव, उप–प्रमुख इम्तियाज आलम, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाका प्रमुख प्रविण साह, र अन्य उच्च पदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।