अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पाकिस्तानमा आगामी नोभेम्बर अन्त्यमा हुने त्रिकोणीय टी–२० अन्तर्राष्ट्रिय सिरिजबाट सहभागी नहुने निर्णय गरेको छ। शनिबार जारी विज्ञप्तिमार्फत एसीबीले पक्तिका प्रान्तको उरगुन जिल्लामा भएको आक्रमणमा आफ्ना क्रिकेटरहरू मारिएपछि उक्त निर्णय गरेको जनाएको हो।
अफगानिस्तानले पाकिस्तान र श्रीलंकासँग नोभेम्बर १७ देखि सुरु हुने त्रिकोणीय सिरिजमा खेल्ने कार्यक्रम तय भएको थियो। तर शुक्रबार (अक्टोबर १७) साँझ उरगुन जिल्लाका क्रिकेटरहरू लक्षित आक्रमणमा मारिएपछि एसीबीले उक्त भ्रमण स्थगित गर्ने निर्णय गरेको हो।
विज्ञप्तिअनुसार क्रिकेटर काबिर, सिबघतुल्लाह र हारुनसहित उरगुनका पाँच अन्य नागरिक मारिएका छन् भने सात जना घाइते भएका छन्। ती खेलाडीहरू पक्तिका प्रान्तको राजधानी शराना पुगेका थिए, जहाँ उनीहरूले मैत्रीपूर्ण क्रिकेट खेल्न लागेको बताइएको छ।
एसीबीले जारी वक्तव्यमा भनेको छ, “यो दुःखद घटनाप्रति शोक प्रकट गर्दै र सहानुभूतिको प्रतीकस्वरूप अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तानमा हुने त्रिकोणीय टी–२० सिरिजमा सहभागी नहुने निर्णय गरेको छ।”
वक्तव्यमा थप भनिएको छ, “पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेटरहरूको सहादत एक अत्यन्त दुःखद घटना हो। यो cowardly (कायर) आक्रमण पाकिस्तानी शासनद्वारा गराइएको हो भन्नेमा एसीबीको ठम्याइ छ।”
एसीबीले यो घटनालाई अफगानिस्तानको खेल क्षेत्र, खेलाडी समुदाय र क्रिकेट परिवारका लागि ठूलो क्षति भएको बताएको छ। साथै, मृतकका परिवार तथा पक्तिका प्रदेशका जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेको छ।
त्यस्तै, अफगानिस्तानका बाँया हातका तीव्र गतिका बलर फजलहक फारुकीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त आक्रमणको कडा निन्दा गरेका छन्।
“नागरिकहरू र हाम्रा घरेलु क्रिकेट खेलाडीहरूको हत्या एक क्षम्य नहुने अपराध हो,” उनले लेखेका छन्। “निर्दोष नागरिक र क्रिकेट खेलाडीहरूको संहार एक घृणित र अक्षम्य अपराध हो।”
हालको सम्बन्धमा चिसोपना बढेका कारण आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा अफगानिस्तानका खेलाडीहरूले पाकिस्तानी क्रिकेटरहरूसँग हात मिलाउने वा नमिलाउने भन्ने विषयमा पनि अब संशय उत्पन्न भएको बताइन्छ।