कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि — आज देशभर धनतेरस पर्व मनाइँदैछ। हिन्दू परम्परा अनुसार यस दिन सुन, चाँदी, भाँडाकुँडा, सवारी साधन तथा अन्य धातुका वस्तु किनमेल गर्ने चलन छ। साथै, आयुर्वेदका प्रवर्तक तथा स्वास्थ्यका देवता भगवान धन्वन्तरीको जन्मोत्सवका रूपमा पनि यो दिन विशेष रूपमा मनाइन्छ।
धार्मिक विश्वासअनुसार, धनतेरसको दिन धातुका भाँडावर्तन वा सुनचाँदीका गरगहना किन्नेले लक्ष्मीको कृपा प्राप्त गर्छन्। यसै दिन भगवान विष्णुको पनि पूजा गर्ने परम्परा छ। सम्पूर्ण विश्वबासीको दीर्घायु र निरोगी जीवनको कामना गर्दै भगवान धन्वन्तरीको आराधना गरिन्छ।
धन्वन्तरी को हुन् ?
हिन्दू धर्म र पौराणिक कथाहरूमा भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता, चिकित्सकहरूको संरक्षक तथा स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा पूजा गरिन्छ। उनी भगवान विष्णुको अवतार मानिन्छन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि हुन्।
पौराणिक कथाअनुसार, देवता र असुरबीचको संग्रामका बेला भगवान विष्णुले धन्वन्तरीका रूपमा अवतार लिएर देवताहरूको उपचार गरेका थिए। त्यसैले, उनलाई भगवान राम र श्रीकृष्णका समान स्तरमा राखी पूजा गर्ने परम्परा रहिआएको छ। महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरिएको पाइन्छ।
समुद्र मन्थनबाट धन्वन्तरीको उत्पत्ति
धन्वन्तरीको जन्म समुद्र मन्थनको समयमा भएको मानिन्छ, जुन देवता र असुरबीचको ऐतिहासिक घटना हो। क्षीरसागर (दूधको सागर) मन्थन गर्दा भगवान विष्णुले कूर्म (कछुवा) अवतार लिएर मन्दराचल पर्वतलाई आधार दिएका थिए। वासुकी नागलाई डोरीका रूपमा प्रयोग गरी समुद्र मथिँदै गर्दा अनेक दिव्य वस्तुहरू प्रकट भए — लक्ष्मीदेवी, पारिजात वृक्ष, ऐरावत हात्ती, चन्द्रमा, कौस्तुभ मणि, कामधेनु गाई आदि।
ती वस्तुहरूमध्ये भगवान धन्वन्तरी अमृतको कलश लिएर समुद्रबाट प्रकट भए। उनी तेजस्वी, चार हात भएका दिव्य स्वरूपमा देखिएका थिए, जसमा अमृतकलश, शंख, चक्र र औषधीय जडीबुटी रहेका थिए। यो प्रतीकले स्वास्थ्य, उपचार र अमरत्वको संकेत गर्दछ।
आयुर्वेदका प्रणेता
भगवान धन्वन्तरीलाई आयुर्वेदको संस्थापक र प्रथम चिकित्सक मानिन्छ। ‘आयुर्वेद’ अर्थात् ‘जीवनको विज्ञान’ मानव स्वास्थ्य र दीर्घायुका लागि विकसित गरिएको प्राचीन चिकित्सा प्रणाली हो। धन्वन्तरीले शरीर, मन र आत्माको सन्तुलनमा आधारित उपचार प्रणालीको ज्ञान दिएका थिए, जसको प्रभाव आजसम्म विश्वभर देखिन्छ।
उनका शिष्यहरू चरक र सुश्रुतले क्रमशः चरक संहिता र सुश्रुत संहिता ग्रन्थ लेखे। चरकले औषधीय उपचार र जीवनशैलीमा जोड दिए भने सुश्रुतले शल्यचिकित्साको विस्तार गरे। यी दुवै ग्रन्थहरूमा धन्वन्तरीको शिक्षाको प्रभाव स्पष्ट रूपमा झल्किन्छ।
अमृत र धर्मप्रतिको निष्ठा
समुद्र मन्थनबाट प्राप्त अमृत देवता र असुरबीच बाँडिनुपर्ने थियो। तर असुरहरूले अमृत कब्जा गर्न खोजेपछि भगवान विष्णुले मोहिनी रूप धारण गरी अमृत देवताहरूलाई दिए। यस कार्यमा धन्वन्तरीले महत्वपूर्ण सहयोग गरेका थिए। यो प्रसङ्गले धन्वन्तरीको धर्म, न्याय र सत्यप्रतिको अटूट निष्ठा प्रकट गर्छ।
उनको योगदानले आयुर्वेदिक चिकित्सा पद्धतिलाई मात्र होइन, सम्पूर्ण मानव सभ्यतालाई स्वास्थ्य, सन्तुलन र आध्यात्मिक चेतनाको बाटोमा अग्रसर गराएको मानिन्छ।