लैंगिक समानताको लागि आर्थिक सशक्तीकरण भनिए पनि मधेशमा महिलाहरुको रोजगारीको अवस्था भने कहालीलाग्दो भएको पाइन्छ । तथापि पछिल्लो समयमा मधेशका महिलामा पनि घर परिवार हुदैं औपचारिक रुपमै श्रम क्षेत्रमा सहभागिता बढ्न थालेको पाइएको हो ।
घरको चुल्हा चौकीमा मात्र सिमित रहने मान्यतालाई तोड्दै पछिल्लो समय मधेशी महिलाहरुको औपचारिक श्रममा समेत सहभागित बढेको पाइन्छ । ग्रामिण भेगमा कृषि कर्मदेखि लिएर, हस्तकला, चित्रकला, विकास निर्माणको काम देखि लिएर पसल चलाउने, व्यापार गर्ने, ब्युटिपार्लर चलाउने, माछापालन, पशुपालन, घरेलु तथा साना उद्योग सञ्चालन र उद्यमी बनेरै आर्थिक उपार्जन गर्ने महिलाहरु अब मधेशमा पर्याप्त भेटिन्छन् । मधेशका महिलाहरुको पहिचानको पर्याय बनेको घुम्टो, बोक्सी, दाईजो प्रथा, बालविवाह लगायतका सामाजिक विकृत्तिहरुलाई पछि पार्दै अबका महिलाहरु सशक्त र सबल बन्न थालेका छन् ।
धनुषाको तिनकौरिया गाउँ निवासी सोभिता मण्डल सोमबार आफ्नै खेतको आलिमा कोदालोले माटो मिलाउँदै गरेको अवस्थामा भेटिइन् । खेतमा बालि लगाउने तयारी गरिरहँदा श्रमिक नभेटेपछि ४५ वर्षिय सोभिता आफैं कोदालोले माटो मिलाउँदै थिइन् । रोजगारीका लागि श्रीमान् विदेशमा छन् । ससुराबुवा बितिसक्नु भएको छ । एउटा देवर छन् ती पनि बाहिर पढ्छन् । अब घरमा काम गर्ने अरु कोही नभएपछि मैले कम्तीमा यो खेत त रोप्नै पर्यो,’ सोभिताले भनिन् । पुरुष मान्छे घरमा छैनन् भनेर यो खेतले त मान्दैन नि उनले भनिन् । यसलाई त गोडमेल गर्नै पर्यो । महिला भएर घरमै बस्दा जिन्दगी चल्दैन । त्यसैले खेतको काममा लागेकी हुँ’ उनले प्रष्ट्याइन् ।
जनकपुरधाम उपमहानगरपालिका ८ नमुना बस्तीकी प्रेमशिला देवीको आफ्नै शाकाहारी धनुषा परिकार उद्योग छ । ५० वर्षकी प्रेमशिलाका श्रीमान् पेशाले शिक्षक छन् । घर परिवार चलेकै छ तर, प्रेमशिला कहिल्यै श्रीमान्को कमाईको भरमा बसिनन् । उनको आफ्नै सिप र श्रमले उनलाई आर्थिक रुपमा आत्मनिर्भर मात्रै नबनाएर छुट्टै सामाजिक पहिचान समेत दिलाएको छ । घरमै कडा परिश्रम गरेर आँप, कटहर, बड्हर, अम्ला, अम्रा, कागती तिलको अचार बनाउने गरेकी प्रेमशिलाले आफ्नो अचाँरहरुलाई ब्रान्डींग गरेर जनकपुरकै डिपार्टमेन्ट स्टोरहरुमा बेच्छिन् । एति मात्रै नभई उनले बनाउने गरेको अदौरी, तिलौरी, कुम्हरौरी, बिरिया, तिसयौरी र आलु चिप्सको खपत पनि बजारमा निकै बढि छ । उनले आफ्नो उद्योगमा १५ थरीका परिकारहरुको उत्पादन गर्छिन् । उत्पादित परिकारहरुको मूल्य समेत उनले आफैं निर्धारण गरेकी छिन् र यी उत्पादनहरुले अहिले उनलाई राम्रो आर्थिक आम्दानी गराएको छ ।
महोत्तरीको धिरापुरकी ४५ वर्षीया रामपरी देवी अशिक्षित छिन् । सानै उमेरमा विहे भएर ससुराली घर आउँपछि करिब २० वर्षसम्म उनले घर बाहिर निस्केर काम गर्ने त के हाटबजार जानसमेत अरुकै भर पर्नु पथ्र्याे । तर, घरपरिवारका पुरुष सदस्यहरु वैदेशिक रोगरारमा गएपछि रामपरीकै काँधमा परिवारको जिम्मेवारी आईपुग्यो । उनले एक्लै खेतीकिसानी र हाटबजार सबै हेर्नु परेको छ । अहिले गाउँमै बुहारीहरुसँग मिलेर करिब ६ कठ्ठा जग्गामा तरकारी खेती गरिरहेकी रामपरी आफूले उब्जाएको तरकारी हाटबजारमा आफैंले बेच्न जान्छिन् । उनको श्रमले उनको परिवारको अर्थ उपार्जनमा निकै सहयोग भएको छ ।

सामाजिक सांस्कृतिक बन्धन र परिवेशले गर्दा मधेशमा महिलाहरु अझपनि खुम्चेर बस्न बाध्य भएको महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रिय अध्यक्ष श्याम साहको ठम्याई छ र्। शिक्षाको अभाव, आफ्नो अधिकारको विषयमा सजगता नहुनु र सामाजिक तथा सांस्कृतिक परिवेशले समेत मधेशका महिलाहरुलाई आर्थिक उन्नतीको पथमा लम्कीन गाहे बनाएको छ,’ साह भन्छिन्र्, समाजले लगाईदिएको कुरिती, प्रथा र मान्यताहरुको पर्खाललाई अब मधेशी महिलाहरुले भत्काउन थालेका छन् । विस्तारै महिलाहरुको पाईला आफ्नो आर्थिक सक्षमताको लागि अघि बढ्न थालेको छ । यसलाई प्रोत्साहनको आवश्यकता छ ।’
१० वर्ष पहिलासम्म समान श्रमका लागि महिलालाई समान ज्याला पाउनसमेत मधेशमा कठिनाई थियो । महिलाहरुलाई कृषि, पशुपालन र सानो व्यापारमा संलग्न गराउने अभ्यासनै थिएन् । तर, अहिले गाउँघरका पुरुषहरु वैदेशिक रोजगारीमा जान थालेपछि महिलाहरुलाई पनि श्रमिकको रुपमा स्वीकार गर्न थालिएको छ ।
मधेशमा महिलाहरु भाषा र प्रक्रियागत समस्याहरुको कारणले पनि आर्थिक गतिविधिमा सहभागि हुन नसकेको कठिनाई छ । भोजपुरी, मैथिली, हिन्दी उर्दू लगायतका भाषाहरु बोल्ने महिलाहरुलाई सरकारी कार्यालयमा पस्न समेत डर हुन्छ । नेपाली भाषा नजान्दा र उनीहरुलाई बुझ्ने भाषामा बुझाउने कर्मचारी नहुँदा महिलाहरुले आप्mनो लागि छुट्याईएको कार्यक्रमहरुको बारेमा समेत जानकारी लिन पाउँदैनन् । श्रम गर्न अघि सरेका महिलाहरुका लागि प्रदेश तथा स्थानीय तहको सरकारले ल्याएका थुप्रै योजनाहरुमा महिलालाई सुविधा दिँदा, सुविधा निदे प्रक्रिया सहज बनाउनु आवश्यक रहेको छ ।
आर्थिक सशक्तीकरणका लागि रोजगार, व्यवसाय, सम्पत्तिमा अधिकार, प्रतिव्यक्ति आम्दानीको अवस्था सबै हेर्नुपर्ने हुन्छ । अन्य प्रदेशको तुलनामा मधेशमा महिला आर्थिक सशक्तीकरणको पिँधमा रहेपनि विस्तारै खुड्किला सार्न थालेका छन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख १४ हजार ६ सय छ । जसमध्ये महिलाको संख्या ३० लाख ४८ हजार ८ सय ४९ अर्थात् ४९.८६ प्रतिशत छ । महिलाको साक्षरता दर ५४.७ प्रतिशत छ भने पुरुषको साक्षरता दर ७२.५ प्रतिशत छ । घरेलु व्यवसायमध्ये मुख्य रुपमा पुरुषले सञ्चालन गरेका ६८.७ प्रतिशत र महिलाले सञ्चालन गरेका ३१.३ प्रतिशत व्यवसाय रहेको पाइएको छ ।