बढ्दो रगतको अभाव र उपचारमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न वीरगन्जमा यही शनिबार विशेष रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा र गौतम स्कुलको आयोजनामा कार्यक्रम सञ्चालन गरिने छ।
‘एक घर, एक रक्तदाता’ भन्ने मूल नाराका साथ सञ्चालन गरिने अभियानको उद्देश्य समाजमा रक्तदानप्रति चेतना अभिवृद्धि गर्नुका साथै नियमित रक्तदान संस्कार विकास गर्दै बिरामीको जीवनरक्षामा योगदान पुर्याउनु रहेको आयोजक विद्यालयले जनाएको छ।
गौतम स्कुलले आफ्ना २१ सयभन्दा बढी विद्यार्थीहरूलाई रक्तदानको महत्त्व, यसका फाइदा र आपत्कालीन अवस्थामा रक्तदानले कसरी जीवन बचाउन सक्छ भन्ने विषयमा कक्षा प्रशिक्षण दिइसकेको छ। साथै, विद्यार्थीहरूमार्फत अभिभावकसम्म जानकारी पुर्याउन नेपाल रेडक्रसका स्वयंसेवकहरूको संयोजनमा पर्चा–पम्पलेट वितरण गरिएको छ।
‘रगतको अभावका कारण धेरै बिरामीहरू समयमै उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्। यदि हरेक घरबाट कम्तीमा एक जनालाई रक्तदाता बनाउन सकियो भने समाजमा ठूलो सकारात्मक प्रभाव पर्न सक्छ,’ आयोजकको भनाइ छ।
वीरगन्जमा समय–समयमा देखिँदै आएको रक्त अभावको समस्या सामूहिक प्रयासबाट मात्र समाधान गर्न सकिने र ‘एक घर, एक रक्तदाता’ अभियानले समुदायमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।
गौतम स्कुलका अनुसार, ‘संकटको घडीमा समयमै गरिएको रक्तदान कसैको जीवनको सञ्जीवनी बन्न सक्छ। आज हामीमध्ये हरेकसँग साँचो नायक बन्ने अवसर छ – कुनै कथामा होइन, वास्तविक जीवनमा।’
विशेष रक्तदान कार्यक्रम शनिबार गौतम स्कुलको जुनियर विंग प्रांगणमा सञ्चालन हुने छ। आयोजकहरूले यस मानवीय कार्यमा सहभागी भई जीवन बचाउन र सन्तानलाई सेवा, दया र मानवताको अमूल्य पाठ सिकाउन सबै अभिभावक, शिक्षक, स्थानीयवासी र युवाहरूलाई हार्दिक आह्वान गरेका छन्।