त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका क्याम्पसहरूमा स्वायत्तताको माग गर्दै प्राध्यापकहरूले पठनपाठन पूर्ण रूपमा ठप्प पारेका छन्। १९ असारदेखि चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएका शिक्षकहरूले २५ असारदेखि पाँचवटै इन्जिनियरिङ क्याम्पसमा पठनपाठन बन्द गराएका हुन्।
डिन कार्यालयको आर्थिक स्वायत्तता र विकेन्द्रीकरणको अधिकार केन्द्रले कटौती गरेको भन्दै पुल्चोक, थापाथली, पूर्वाञ्चल, पश्चिमाञ्चल र चितवन क्याम्पसका शिक्षकहरू आन्दोलनमा छन्। उनीहरूले त्रिविको केन्द्रीय हस्तक्षेप खारेज गर्न माग गर्दै शैक्षिक, आर्थिक र प्रशासनिक स्वायत्तताको सुनिश्चितता खोजिरहेका छन्।
“थापाथली क्याम्पसका सरहरू पनि पुल्चोकमा कोणसभामा आउनुभएको छ। डेढ दुई सय जना छौं। स्वायत्तताको अधिकार नपाएसम्म आन्दोलन जारी राख्छौं,” प्राध्यापक सङ्घ पुल्चोकका सहसचिव रोशन कार्कीले बताए।
शिक्षकहरूले सामूहिक राजीनामा समेत दिइसकेका छन्। उनीहरूको भनाइमा, २०५५ सालको विकेन्द्रीकरण नियम अनुसार सञ्चालन हुँदै आएको इन्जिनियरिङ संस्थानको अधिकार २०८० सालको त्रिवि बजेट वक्तव्यमार्फत कटौती गरिएको हो।
कार्कीले भने, “२०८० सालदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएका थियौं। सुनुवाइ नभएपछि अहिले पठनपाठन नै रोक्न बाध्य भएका हौं।”
शिक्षकहरूले कार्यकारी परिषद्ले विकेन्द्रीकरण स्थापित भएको पत्र लेखे मात्र आन्दोलन अन्त्य गर्ने चेतावनी दिएका छन्। उनीहरूको आन्दोलनका कारण हजारौं विद्यार्थीको शैक्षिक गतिविधि प्रभावित भएको छ।
यसैबीच, त्रिवि केन्द्रीय कार्यालयले आन्दोलनरत पक्षसँग वार्ता गर्न र समस्या समाधानको लागि समिति गठन गर्ने तयारी गरिरहेको जनाएको छ। “विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको छ। समस्या समाधानका लागि एउटा कमिटी गठन हुन्छ,” त्रिविका एक उच्च अधिकारीले बताए।