मधेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ७१.४८ प्रतिशत बजेट खर्च गरेको छ। चालु तथा पुँजीगत गरी कुल ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार रुपैयाँ खर्च भएको प्रदेश सरकारको अर्थ मन्त्रालयले जनाएको छ।
मधेश सरकारले चालु आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो। त्यसअनुसार पुँजीगततर्फ २८ अर्ब ६१ करोड २० लाख ७४ हजारमध्ये २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ, जुन पुँजीगत बजेटको ७५.६४ प्रतिशत हो।
त्यस्तै, चालु खर्चतर्फ १५ अर्ब २८ करोड ९६ हजार बजेट विनियोजन गरिएकामा ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार रुपैयाँ खर्च गरिएको छ। यो कुल चालु बजेटको ६४.६४ प्रतिशत हो।
अर्थ सचिव रामकुमार महतोका अनुसार यो खर्च दर अघिल्ला आर्थिक वर्षहरूमध्ये सबैभन्दा राम्रो हो। चालु आर्थिक वर्षमा २८.५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ, जुन विगतको तुलनामा उल्लेखनीय सुधार हो।
गत आर्थिक वर्ष २०८०/०८१ मा भने बजेट खर्च तुलनात्मक रूपमा कमजोर थियो। सो वर्ष ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेटमध्ये २४ अर्ब ५९ करोड ४५ लाख रुपैयाँ मात्र खर्च भएको थियो, जुन कुल बजेटको ५५.७५ प्रतिशत फ्रिज भएको अर्थ मन्त्रालयले जनाएको छ।
त्यस वर्ष चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ विनियोजन गरिएकोमा ९ अर्ब २९ करोड ७० लाख मात्रै खर्च भएको थियो। यस्तै, पुँजीगततर्फको २५ अर्ब ५७ करोड ५७ लाख बजेटमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ मात्र खर्च भएको थियो।
चालु आवमा पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि भएको देखिन्छ भने बजेट फ्रिज हुने दरमा पनि ऐतिहासिक सुधार आएको अर्थ मन्त्रालयको भनाइ छ।