नेपाल प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवले अज्ञात स्थानबाट भिडियो सन्देश जारी गर्दै नेपाल विरुद्ध विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले नेपालबाट मधेश अलग हुनैपर्ने दाबी गर्दै आफूविरुद्धको कारबाहीलाई राजनीतिक रंग दिने प्रयास भइरहेको आरोप लगाएका छन्।
हिन्दी भाषामा जारी गरिएको भिडियो सन्देशमा यादवले भारत सरकार, विशेषगरी बिहार राज्य सरकारसँग समर्थन मागेका छन्। उनले आफू नेपालमा दमन र शोषणको शिकार भएको भन्दै भारतलाई नेपाल प्रहरीलाई कुनै पनि प्रकारको सहयोग नगर्न सार्वजनिक रूपमा आग्रह गरेका छन्।
यादवले सर्लाही प्रहरी प्रमुख (एसपी)सँगको भनाभनको प्रसंग उठाउँदै, “एसपीले मलाई 'साले' भनेर गाली गरे, म पनि आन्दोलनकारी हुँ, केही बोलेँ,” भन्दै प्रहरीमाथि राति कार्यालय खोलेर कमिसन उठाउनेजस्ता गम्भीर आरोपसमेत लगाएका छन्।
उनले विगतमा नागरिकता लगायतका मुद्दामा मधेशमा भएको आन्दोलनमा सक्रिय भूमिका खेलेको दाबी गर्दै अहिले पनि राज्यले मधेशीमाथि भेदभाव जारी राखेको आरोप लगाए। “नेपालमा मधेशीहरूलाई अझै पनि दोस्रो दर्जाको नागरिक ठानिन्छ,” भन्दै उनले खसवादको विरुद्ध आवाज उठाएका छन्।
भिडियोको अन्त्यतिर यादवले, “मधेश आज नभए भोलि अलग हुन्छ। म रहूँ या नरहूँ, अर्को पुस्ताले यो काम गर्छ,” भन्दै स्वराज मधेशको कुरा पुनः दोहोर्याए। उनले सीके राउतको ‘स्वराज मधेश’ अभियानलाई समेत समर्थन जनाउँदै सम्भावित विद्रोहको संकेतसमेत दिएका छन्।
यादवमाथि हालै सर्लाहीका प्रहरी प्रशासनले छापा मारेको थियो र उनलाई पक्राउ गर्न खोजी भइरहेको छ। उनको यो अभिव्यक्तिले राजनीतिक तथा सुरक्षा वृत्तमा तरंग सिर्जना गरेको छ।