पर्सा जिल्लाको ठोरी गाउँपालिकाले ऐतिहासिक उपलब्धि हासिल गर्दै जिल्लाकै पहिलो साक्षर स्थानीय तहको पहिचान पाएको छ। शनिवार ठोरी–३, शिकारीवासमा आयोजित विशेष समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरीलाई औपचारिक रूपमा साक्षर पालिका घोषणा गरे।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद साह सोनार (अजय सर्राफ) तथा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थिति रहेको थियो।
१२ सूचकमध्ये ८ सूचक पूरा गर्दै साक्षर पालिका
नेपाल सरकारले साक्षर पालिका घोषणा गर्न निर्धारण गरेका १२ सूचकहरूमध्ये ८ वटा सूचक पूरा गरेको आधारमा ठोरीलाई साक्षर घोषणा गरिएको हो। गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीका अनुसार आसमान नेपालको सहयोगमा पाँचै वडामा गरिएको सर्वेक्षणमा १५ देखि ६० वर्ष उमेर समूहका १५,६७८ जनामध्ये ९८.८६ प्रतिशत अर्थात् १५,३२१ जना साक्षर पाइए।
"तथ्यांकका आधारमा हामीले साक्षरता मापदण्ड सहजै पार गर्यौं," जोशीले बताए।

शिक्षा विकासतर्फ महत्त्वपूर्ण कदम
समन्वय समिति प्रमुख निरञ्जन साह सोनारले ठोरीवासीको सामूहिक प्रयासले यस उपलब्धि सम्भव भएको बताउँदै अन्य पालिकाहरूलाई पनि यो प्रेरणादायी हुने बताए। “शिक्षा विकासको मेरुदण्ड हो,” उनले भने, “अब गुणस्तरीय शिक्षामा लगानी आवश्यक छ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साक्षरता दर ९८.८६ प्रतिशत पुग्नु गर्वको विषय भएको भन्दै व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए।
प्रदेशको सातौँ, जिल्लाको पहिलो साक्षर पालिका
गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले मधेश प्रदेशका १३६ पालिकामध्ये ठोरी सातौँ र पर्साका १४ पालिकामध्ये पहिलो साक्षर पालिका बन्नु गौरवको विषय भएको बताए। “स्थानीयको निरन्तर सहयोग र हाम्रो टिमको प्रतिबद्धताले यो सम्भव भयो,” उनले भने, “अब हामी गुणस्तरीय शिक्षातर्फ केन्द्रित हुनेछौं।”
विशेष उपस्थिति र शुभकामना मन्तव्य
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गोकुल कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा. चुमनलाल दास, सामुदायिक सेवा केन्द्र श्रीपुर–मुर्लीका अध्यक्ष राम कुमार सर्राफ, ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, आसमान नेपालका धर्मेन्द्र चौरसिया लगायतको उपस्थिति रहेको थियो।
नेपाल सरकारको मापदण्ड अनुसार कुनै पालिकाले १५ देखि ६० वर्ष उमेर समूहमा ९५ प्रतिशत साक्षरता हासिल गरेमा साक्षर घोषणा गर्न सकिन्छ। ठोरीले यो मापदण्ड पार गर्दै पर्सा जिल्लालाई शैक्षिक रूपमा एक कदम अघि बढाएको छ। यो उपलब्धिले अन्य पालिकाहरूलाई पनि साक्षरता अभियानमा सक्रिय हुन प्रेरणा दिने अपेक्षा गरिएको छ।