मधेश प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तारुढ जनमत पार्टीभित्र चर्को असन्तुष्टि चुलिएपछि प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
प्रदेश सरकारको आग्रहमा प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगनको निर्णय गरेको हो। जनमत पार्टीका प्रदेश सभा सदस्यहरूले बजेटमा परियोजना वितरण असमान भएको भन्दै आपत्ति जनाउँदै आएका थिए।
बजेटमा ‘बिचौलियाका योजना प्राथमिकतामा राखिएको’ र जनमत पार्टीले सिफारिस गरेका दीर्घकालीन तथा भिजनरी योजनाहरू हटाइएको भन्दै पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतले सार्वजनिक रूपमा असन्तुष्टि पोखेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, “संघीयताको उपलब्धि भनेको प्रदेश अस्पताल वा रंगशालाजस्ता ठूला पूर्वाधार हुन्, तर अहिले पनि टुक्रे योजनाले रेडबुक भरिएको छ।”
उनका अनुसार, जनताको आवश्यकता अनुसार तयार पारिएका योजनाहरू हटाइएका छन् भने समावेश गरिएका केही योजनामा नाममात्रको ५–१० लाख बजेट छुट्याइएको छ।
मुख्यमन्त्री समेत आफ्नै पार्टीबाट रहेको अवस्थामा पार्टीको ‘भिजन रोडम्याप’ बेवास्ता गरिनु दुर्भाग्यपूर्ण रहेको डा. राउतले टिप्पणी गरेका छन्।
डा. राउत र पार्टी सांसदहरूको आक्रोश चर्किएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले सभामुख रामचन्द्र मण्डलसँग समन्वय गर्दै बैठक स्थगन गर्न आग्रह गरेका थिए।
स्रोतका अनुसार, बजेटमा अर्थमन्त्रीले आफ्नो गृह जिल्ला रौतहट र भौतिक पूर्वाधार मन्त्रीले आफ्नो गृह जिल्ला महोत्तरीमा बढी योजना केन्द्रित गरेको आरोप लाग्दै आएको छ।
हाल जनमत पार्टीको संसदीय दलको बैठक बसिरहेको छ भने बजेट विवादले सत्ता गठबन्धनभित्र गम्भीर खटपट निम्त्याउने संकेत देखिएको छ।