गहवामाई रथ यात्रा २०८२ को धार्मिक उल्लासबीच गर्मीका कारण उत्पन्न रक्त अभावलाई सम्बोधन गर्दै गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा बुधबार गहवामाई मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
धर्मको आस्था र मानव सेवाको भावना एकैसाथ मिसिएको यस कार्यक्रमले सामाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ। “रक्तदान जीवनदान हो” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा ४ महिला सहित ४२ जना दाताहरूले रक्तदान गरेका थिए।
रक्तदाताहरूमा बन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्याम प्रसाद गुप्ता, सम्भु साह, रवि कुमार गुप्ता, अजय राउत, विवेक कुमार सर्राफ, राजु गुप्ता, राहुल कुमार रौनियार लगायतको उल्लेखनीय सहभागिता थियो।
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवा केन्द्र पर्साको अपिलमा आधारित थियो। समाजसेवी, श्रद्धालु, युवा र स्वास्थ्यप्रेमीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावशाली बनायो।
कार्यक्रममा रेडक्रस वीरगञ्ज शाखाका सभापति बृज किशोर पटेल, रेशमकोठिका युवा संयोजक अभिलाष गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तव लगायतको उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष श्याम पोखरेलले गरेका थिए भने प्राविधिक सहयोग रक्तसञ्चार सेवा केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे र नितेश यादवले गरेका थिए।
आयोजकका अनुसार यो कार्यक्रम धार्मिक आयोजकमार्फत मानवीय सेवाको सन्देश प्रवाह गर्न गरिएको अभिनव प्रयास हो, जसले वीरगञ्जमा सेवा, समर्पण र सहकार्यको भावनालाई थप मजबुत बनाउने विश्वास गरिएको छ।