वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा महिला उद्यमशीलता सहायता कक्षको उद्घाटन गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले एक विशेष समारोहका बीच रिबन काटेर सहायता कक्षको उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि टेमानीले महिला सशक्तिकरण र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्तो पहल आवश्यक र सराहनीय भएको बताउँदै वीरगञ्ज उद्योग वाणिज्य सङ्घको प्रयासले नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे।
सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष गौतमले महिला उद्यमीलाई सहयोग र सहजीकरण गर्दै जाने प्रतिबद्धता जनाए। उनले महिला उद्यमशीलता सहायता कक्षबाट व्यवसायिक सल्लाह, तालिम, बजार पहुँच र आवश्यक परामर्श प्रदान गरिने जानकारी दिए।
कार्यक्रममा वीरगञ्ज महानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सहायता कक्ष सञ्चालनका लागि महानगरपालिका आवश्यक स्थान उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै नगरपालिकाको सधैँ सकारात्मक सहयोग रहने धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक हरि पौडेलले सहायता कक्षले महिलामा उद्यमशीलता प्रवर्द्धन र स्वरोजगार अभिवृद्धिमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।
महिला उद्यमशीलता सहायता कक्षकी सहजकर्ता संजु कलवारले महिलाहरूलाई व्यवसायिक सल्लाह, जानकारी, तालिम तथा प्रोत्साहन प्रदान गरिने जानकारी दिइन्।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पंजियार, सङ्घका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्ष आशिष लाठ, कोषाध्यक्ष अनोज रुंगटा, सहसचिव अनुप अग्रवाल, महिला समृद्धि नेपाल कार्यक्रम मधेश प्रदेशका सदस्य डा. बासुलाल कर्ण लगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो।