बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा भएको आर्थिक अनियमिततामा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार सवारीसाधन खरिद, मर्मतसम्भार, सौन्दर्यीकरण र गेट निर्माणका नाममा ५१ लाख ७१ हजार रुपैयाँ भ्रष्टाचार गरिएको छ।
मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा परिषद्का लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंह, सवारी चालक विक्की कुमार चौधरी, उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव, कोषाध्यक्ष बविता देव साह, ठेकेदार जितेन्द्र कुमार यादव र कार्यकारी निर्देशक ठाकुरकी श्रीमती इन्दुलेखा कुमारी ठाकुर छन्।
अख्तियारका अनुसार श्रीमतीको नाममा खरिद गरिएको गाडीको भुक्तानी सरकारी कोषबाट गरिएको, यात्री निवासको मर्मत, सौन्दर्यीकरण तथा गेट निर्माणमा उपभोक्ता समितिमार्फत रकम हिनामिना गरिएको र गाडीको इन्धन तथा मोबिल खरिदको नाममा समेत राज्यकोषको दुरुपयोग गरिएको छ।
आयोगले सो प्रकरणलाई ठूलाे आर्थिक अनियमितताको रूपमा व्याख्या गर्दै दोषीहरूमाथि कानुनी कारबाही गर्न विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो।