मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक विकासलाई केन्द्रमा राख्दै महत्त्वाकांक्षी योजनासहितको बजेट सार्वजनिक गरेको छ।
प्रदेश सभामा सोमबार प्रस्तुत बजेटमार्फत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि छुट्याइएको रकम अन्तर्गत ‘भिजिट मधेश २०८३’ अभियान घोषणा गरिएको छ। उक्त अभियानले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै मधेशको धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने सरकारको योजना छ।
त्यस्तै, स्वदेशी तथा विदेशी लगानी भित्र्याउन ‘मधेश लगानी सम्मेलन’ आयोजना गरिनेछ भने विदेशमा रहेका मधेशी डायस्पोरालाई प्रदेशको विकासमा संलग्न गराउने उद्देश्यसहित ‘डायस्पोरा समिट’ गरिने बताइएको छ। पर्यटन रणनीतिमा ‘ट्रेवल एण्ड टुर समिट’ र भारतको अयोध्यामा जनकपुरधामको प्रचार अभियान पनि समावेश छ।
बजेटमा ४० प्रमुख पर्यटकीय स्थलको स्तरोन्नति, ८ वटै जिल्ला सदरमुकामलाई जोड्ने पोडवे निर्माण, उद्योग र किसानका लागि ‘लोन कार्ड’ योजना, ‘मधेश स्टार्ट अप कार्यक्रम’, ‘मधेश स्पेस तथा कम्युनिकेशन सेन्टर’ सञ्चालनजस्ता बहुआयामिक योजना समेटिएका छन्।
प्रदेश सरकारले यूरिया सहित रासायनिक मल उद्योग स्थापनाको सम्भाव्यता अध्ययन गर्ने र १० हजार युवालाई व्यावसायिक सीप तालिम दिने योजना पनि अघि सारेको छ।
मधेश प्रदेश सरकारको यो बजेटले समृद्धि र समावेशी विकासको मार्गचित्र प्रस्तुत गरेको भन्दै विज्ञहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।