‘खेली मधेश, जीती मधेश’ भन्ने नाराका साथ मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।
खेलकुदलाई सामाजिक विकास, खेलाडी सशक्तिकरण र प्रदेशको पहिचान निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै सरकारले विविध कार्यक्रम अगाडि सारेको छ। नीति तथा कार्यक्रममा स्थानीय खेलको संरक्षण, खेलाडीको प्रोत्साहन, तालिम, बीमा, सामग्री व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माणसम्मका योजना समावेश छन्।
प्रदेशका सांस्कृतिक पहिचान बोकेका परम्परागत खेलहरूको प्रवर्द्धन, खेलकुद परिषद् तथा संघ–संस्थासँग समन्वय र खेलग्राम निर्माणजस्ता योजनाले समग्र खेलकुद क्षेत्रको रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।
खेलाडीको मनोबल वृद्धिका लागि खेलकुद बीमा, आवश्यक सामग्रीको सुनिश्चितता र निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
यसै सन्दर्भमा, मधेश प्रदेश सरकारले २८ भाद्रलाई ‘मधेश खेलकुद दिवस’ का रूपमा उत्सवसहित मनाउने घोषणा गरेको छ, जसले खेलकुदलाई सामाजिक पर्वको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।
श्री रामजानकी बहुउद्देशीय रंगशाला, नारायणी रंगशाला लगायतका पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ। ती योजनाहरू सार्वजनिक–निजी साझेदारीमा अघि बढाइनेछ।
सरकारको यस पहलले खेलकुदलाई मनोरञ्जनको मात्र साधन नभई सामाजिक रूपान्तरणको सशक्त माध्यमका रूपमा अगाडि ल्याउने विश्वास व्यक्त गरिएको छ।