विश्व वातावरण दिवस २०८२ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले श्री शारदा माध्यमिक विद्यालयको सहकार्यमा सञ्चालन गरेको पाँचदिने कार्यक्रम अन्तर्गत सोमबार दोस्रो दिन व्यापक सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
आजको कार्यक्रम प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा श्री शारदा मा.वि.का प्रधानाध्यापक अनिल वर्णवाल, समाजसेवी भगवान श्रेष्ठ, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, केदार गुप्ता, साबिर अन्सारी, विद्यालयका शिक्षक तथा कक्षा ९ र १० का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रधानाध्यापक वर्णवालले वातावरण संरक्षणको महत्त्वमा जोड दिंदै भने, "प्रकृति बिना पृथ्वी र मानव जीवनको कल्पना पनि गर्न सकिँदैन। त्यसैले, हाम्रो वरपरको क्षेत्रलाई हामी आफैँले सफा राखेर प्रकृतिको सम्मान गर्नुपर्छ। यसरी मात्रै हामी स्वस्थ र समृद्ध जीवन बिताउन सक्छौँ।"
संस्थापक अध्यक्ष सिंहले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भने, "श्री शारदा मा.वि.सँगको सहकार्यमा जेठ १८ देखि २२ गतेसम्म बिहान ६ बजेदेखि विभिन्न स्थानहरूमा सरसफाइ तथा सचेतनामूलक कार्यक्रममार्फत नागरिकहरूलाई प्रकृतिप्रति जिम्मेवार बनाउने उद्देश्य रहेको छ। आज विद्यालयदेखि अलौको बाहिरी मुख्य सडक, चौक, पसल क्षेत्र र टोलको भित्री भागसम्म सरसफाइ गरी स्थानीयहरूलाई सरसफाइप्रति सजग बनाउने प्रयास गरिएको हो।"
सरसफाइको क्रममा विद्यार्थीहरूले विभिन्न शैलीमा – कतै व्यंग्य त कतै मार्मिक प्रस्तुतीमार्फत – सरसफाइको महत्त्व बुझाउँदै प्रकृतिप्रति सम्मान गर्न आग्रह गरेका थिए। सहभागी विद्यार्थीहरूको यस्तो उत्साह देख्दा आफू भावुक र हर्षित भएको उल्लेख गर्दै अध्यक्ष सिंहले सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालय प्रशासन तथा प्रतिष्ठानका सदस्यहरूप्रति आभार प्रकट गरेका थिए।