सृजनशीलता, सौन्दर्यता र प्रतिस्पर्धाको संगम बनेको नवदिप एकेडेमी माध्यमिक विद्यालयमा कक्षा सजावट प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित विद्यालयमा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरूले आफ्ना कक्षा कोठाहरूलाई आकर्षक रूपमा सजाएर प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रतियोगितामा कक्षा ४ ‘बी’ सेक्सनले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गर्यो भने कक्षा १ ‘ए’ दोस्रो, कक्षा ५ तेस्रो, र एलकेजी (LKG) कक्षा चौथो स्थानमा रहे।

विद्यालयकी प्रधानाध्यापक सुशीला साहको अध्यक्षतामा तथा प्याब्सन पर्साका जिल्ला अध्यक्ष सरोज प्रसाद चौधरीको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न कार्यक्रममा अतिथि चौधरीले विद्यार्थीहरूको सिर्जनात्मकता र कलात्मकताको खुलेर प्रशंसा गरे।
उनले भने, “शिक्षासँगै अतिरिक्त गतिविधिमा पनि विद्यार्थीहरूको प्रतिभा चम्किँदा गर्व लाग्छ। यस्तो प्रतिस्पर्धाले उनीहरूको क्षमता अझ निखारिन्छ।”
निर्णायक मण्डलले सबै कक्षाहरूको सजावट उत्कृष्ट भएकाले अंक प्रदान गर्न कठिनाइ भएको जनाए। निर्णायकमा समाजसेवी प्रकाश उपाध्याय, प्याब्सन सल्लाहकार इमामुद्दीन अहमद, तथा अभिभावक प्रतिनिधि राजकुमार तामाङ सहभागी थिए।

विद्यालयकी सञ्चालिका सुशील साहले सहभागी सबैको आभार प्रकट गर्दै यस्तो कार्यक्रमले विद्यार्थीमा टीमवर्क, सिर्जनशीलता र सौन्दर्य चेतना बढाउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहँदा विद्यालय उत्सवमय बनेको थियो।
तस्वीरहरूः



