वीरगन्ज मल्टिपल कलेजमा अध्ययनरत व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. (MBA) प्रथम सेमेस्टरका विद्यार्थीहरूका लागि विशेष ओरिएन्टेसन कार्यक्रम सिन्धुली जिल्लाको मञ्जरी रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम कलेजका सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा तथा राजर्षि जनक विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा. विनोद साहज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कलेज प्रशासनका अनुसार, ओरिएन्टेसन कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक वातावरण, कलेजका नियम तथा विनियम, पाठ्यक्रमको संरचना र आगामी शैक्षिक यात्राबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई नयाँ शैक्षिक परिवेशमा घुलमिल हुन र आफ्नो अध्ययनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने कलेजले जनाएको छ।
प्रमुख अतिथि डा. साहले राजर्षि जनक विश्वविद्यालयको पाठ्यक्रम रोजेकोमा कलेज प्रशासन र विद्यार्थीहरूलाई धन्यवाद दिँदै, विश्वविद्यालय र कलेज एउटै परिवारसरह भएको धारणा व्यक्त गरे। उनले विश्वविद्यालयको पाठ्यक्रम समसामयिक आवश्यकता अनुसार निरन्तर परिमार्जन गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा विश्वविद्यालय क्याम्पस प्रमुख डा. सरोज ठाकुर, कलेजका एकेडेमिक डाइरेक्टर दर्शन केसी, पत्रकार नीरज पिटाकोठे, सहायक क्याम्पस प्रमुख रुदल ठाकुर लगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा अलोक एजुकेशनका सञ्चालक अजय साह, कलेजका शिक्षक मनीष गौतम, प्रचेत कर्ण, जितेन्द्र पटेल, मुक्त भुसाल लगायत एम.बि.ए. प्रथम सेमेस्टरका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
शिक्षक कृष्णा पासवानको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको स्वागत कलेजका सञ्चालक सुरेश चौधरीले गरेका थिए।