गणतन्त्र दिवस २०८२ को अवसरमा पारेर गरिएको रक्तदान कार्यक्रममा १४० जनाले रक्तदान गरेका छन् । वीरगन्ज कारागार परिसरमा भएको बृहत् रक्तदानमा कारागार भित्रका कैदीवन्दीहरुले पनि रक्तदान गरेका हुन् ।
लाइन्स क्लव अफ सेन्ट्रल सिटी वीरगन्ज, लाइन्स क्लव अफ प्रभु र स्व. डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठान तथा प्रभु हस्पिटल वीरगन्जको संयुक्त आयोजनामा भएको कार्यक्रममा कैदी बन्दी, सुरक्षाकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा ३ जना महिला कैदीबन्दी र ३ जना सशस्त्र प्रहरी सहित अन्य सर्वसाधारणको पनि सहभागिता रहेको लाइन्स क्लव अफ सेन्ट्रल सिटीको उपाध्यक्ष सुशिला साहले जनाइन् । कार्यक्रम संयोजन दिलीपराज कार्कीले गरेका थिए ।
गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा आयोजित रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवता र राष्ट्रिय एकताको सन्देश फैलाएको पनि लायन्स क्लव अफ प्रभुका अध्यक्ष दिगम्बर गुप्ताले बताए । कार्यक्रमले वीरगन्जको सामाजिक परिवेशमा सकारात्मक ऊर्जा थपेको पनि लायन्स क्लव अफ प्रभुका चन्दन गुप्ताले बताए ।

मुलुकको समुन्नतिका लागि ल्याइएको गणतन्त्र दिवसको अवसरमा भएको रक्तदान कार्याक्रममा दिपक महतो, अशोक लोहार, पवन कुमार झा, जोतिलाल साह, राजेश सहनी, राधेश्याम पटेल, गुडु यादवलगायत रहेका थिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगन्ज कारागारका जेलर रूपक मण्डल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंको उपस्थिति रहेको आयोजकले जनाएको छ ।
डा. स्व.थापाको तेस्रो वार्षिकोत्सव पनि यसै अवसरमा परेकोले विगतमा झैं उहाँको स्मृतिमा पुस्तक प्रकाशन गर्ने निरन्तरता यो वर्ष भने सामाजिक कार्यतर्फ केन्द्रित भई गणतन्त्र दिवसलाई अझ भव्य मनाइएको कार्यक्रमका अध्यक्ष डा.लक्ष्मी थापाले बताइन् । लाइन्स क्लव अफ सेन्ट्रल सिटी वीरगन्जको अध्यक्ष समेत रहेकी डा. लक्ष्मी थापाका पिता डा.स्व. थापा नेपालका राम्रो अर्थविद् थिए । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेको पनि उपस्थिति रहेको थियो ।