मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई पुनः नियुक्त गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेकोमा सबै प्रतिस्पर्धीलाई पछि पार्दै हुमागाईं पुनः नियुक्त भएका हुन्।
यसअघि पनि उनले चार वर्षसम्म विज्ञापन बोर्डको नेतृत्व सम्हालिसकेका छन्। मन्त्री परिषद्मा सिफारिस समितिबाट व्यावसायिक कार्य योजना, प्रस्तुतीकरण तथा अन्तरवार्तामा उत्कृष्ट अंक प्राप्त गरेका तीनजनाको नाम पेश गरिएकोमा हुमागाईं सर्वोत्कृष्ट ठहरिएका थिए। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गका अनुसार, बोर्डको प्रमुखमा पुनः हुमागाईंको नियुक्ति गरिनुका पछाडि उनको अनुभव, दक्षता र अघिल्लो कार्यकालका उपलब्धि रहे।
२०७८ सालमा सरकारद्वारा गठन गरिएको विज्ञापन बोर्डले आमसञ्चार माध्यम, सामाजिक सञ्जाल, होर्डिङ बोर्डमार्फत हुने विज्ञापनका साथै सभा, समारोह, मेला महोत्सव र चलचित्रघरमार्फत् प्रसारित हुने विज्ञापनको नियमन तथा अनुगमन गर्दै आएको छ।
हुमागाईंको अघिल्लो कार्यकालमा विज्ञापन नियमनसम्बन्धी महत्वपूर्ण नीति तथा नियमावली निर्माण तथा कार्यान्वयन गरिएको थियो। उनले ‘विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७’ संशोधन गरी सञ्चार माध्यमको विलका आधारमा मात्र विज्ञापन भुक्तानीको व्यवस्था मिलाएका थिए, जसले विज्ञापन बजारमा हुने आर्थिक चुहावटलाई न्यूनीकरण गर्न सहयोग पुर्याएको मानिन्छ।
साथै, उनले ‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९’ जारी गरी नेपालमा पहिलो पटक विज्ञापन आचारसंहितालाई कार्यान्वयनमा ल्याएका थिए। तीनै तहका सरकारको समन्वयमा काम गर्न ‘विज्ञापन प्रदेश निर्देशिका, २०८१’ र ‘स्थानीय तहको विज्ञापन ऐन, २०८१’ को नमुना तयार गरी सबै प्रदेश र पालिकाहरूमा पठाइएको थियो।
सामाजिक सञ्जालमा हुने विज्ञापनमार्फत देशको विदेशी मुद्रा अपचलन रोक्न उनले कानुनी सुदृढीकरण नहुँदासम्म सिफारिश नगर्ने अडान लिएका थिए। मदिराको विज्ञापन प्रतिबन्धको कार्यान्वयन पनि हुमागाईंको कार्यकालमै भएको थियो।
२७ वर्षभन्दा बढी समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील हुमागाईं नेपाल टेलिभिजन, जनता टेलिभिजन र इमेज च्यानलको नेतृत्व गरिसकेका अनुभवी सञ्चारकर्मी हुन्। पत्रकारिता र जन प्रशासनमा स्नातकोत्तर तथा पत्रकारिता विषयमा दर्शनाचार्य गरेका उनले विज्ञापन नियमनसम्बन्धी विषयमा विद्यावारिधि गर्दै आएका छन्।