नेकपा (एमाले) धनुषा जिल्ला कमिटीको ८औं अधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा भोला यादव नेतृत्वको समूहले सबै पदमा सशक्त विजय हात पार्दै प्यानलसहितको वर्चस्व स्थापित गरेको छ।
निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यादव समूहले ठूला मतान्तरका साथ विजय दर्ता गराएको छ। अध्यक्ष पदमा भोला यादवले २०२ मतको फराकिलो अन्तरले ४०२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पारेका छन्। उनका प्रतिद्वन्द्वीले २०० मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्ष पदमा तेजनारायण यादव ४३० मतसहित विजयी हुँदा, उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले १६० मतमा सीमित रहे। सचिव पदमा दीपनारायण ठाकुर ३६५ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गरे।
उपसचिवमा सबिन विक्रम थापा १८५ मतको अग्रतासहित विजयी भए। महिला उपसचिव पदमा रुका कुमारी मिश्रले ३९१ मत प्राप्त गर्दै किरण कापरलाई २०७ मतको अन्तरले पछि पारिन्। कापरले १८४ मत प्राप्त गरिन्।
लेखा समिति संयोजक पदमा बिरेन्द्रलाल कर्णले पनि १५८ मतको स्पष्ट अग्रता कायम गर्दै आफ्नो जित सुनिश्चित गरेका छन्।
निर्वाचन शान्तिपूर्ण तर उत्साहजनक प्रतिस्पर्धामा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन नतिजाबाट यादव नेतृत्वको समूहमाथि जिल्लामा एमालेको संगठनात्मक पकड थप बलियो बनेको संकेत गरिएको छ।
विजयी प्यानलले अब संगठन विस्तार, नीति निर्माण र पार्टी सुदृढीकरणमा तिब्रता दिने प्रतिबद्धता जनाएको छ।