सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठसँग सम्बन्धित जग्गा अनियमितता प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ।
बिहीबार बसेको समितिको बैठकले सो प्रकरणमा समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन अख्तियारमा पठाइने निर्णय गरेको हो। समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार, पतञ्जलीको नाममा रहेको जग्गा खरिद–बिक्रीमा हदबन्दी मिचिएको भन्ने उजुरी समितिमा परेपछि सम्बन्धित मन्त्रालय र निकायसँग विवरण मागेर अनुसन्धान प्रतिवेदन तयार पारिएको थियो।
सभापति पोखरेलले भने,"पतञ्जली प्रकरणमा सार्वजनिक लेखा समितिमा उजुरी आएको थियो। मन्त्रालय र अन्य निकायहरूसँग सोधपुछ गरी प्रतिवेदन तयार पारिएको हो। अब यसलाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने निर्णय भएको छ।"
यसअघि अख्तियारले पतञ्जली जग्गा अनियमितता सम्बन्धमा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको थियो।
२०६६ सालमा प्रधानमन्त्री रहेका बेला नेपालकै नेतृत्वमा मन्त्रिपरिषद्ले पतञ्जलीलाई हदबन्दी छुटमा जग्गा किन्ने अनुमति दिएको थियो। तर, सो निर्णयको आडमा हदबन्दीभन्दा बढी जग्गा खरिद तथा बिक्री गरिएको भन्दै अख्तियारले अनुसन्धान सुरु गरेको हो।
पोखरा विमानस्थल पनि अख्तियारमा
त्यस्तै, सभापति पोखरेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबारे समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमा कुनै अविश्वास नभएको र उक्त प्रतिवेदन पनि अख्तियारमा थप अनुसन्धानका लागि पठाइएको जानकारी दिए।
सार्वजनिक लेखा समितिको पछिल्लो निर्णयले पतञ्जली प्रकरणमा थप कानुनी प्रक्रिया अघि बढ्ने संकेत गरेको छ।