मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशका सरकारी कर्मचारीहरू कामप्रति उदासीन देखिएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्तो कार्यशैलीले प्रदेश सरकारको प्रदर्शनमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको भन्दै तत्काल सुधारको माग गरेका छन्।
अर्थ मन्त्रालयद्वारा बिहीबार आयोजित विनियोजन विधेयक २०८२ का लागि सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले पछिल्लो समय सबै मन्त्रालयमा कर्मचारीहरूको कामप्रतिको मनसाय कमजोर बन्दै गएको बताएका हुन्।
उनले कार्यक्रममा सहभागी सचिवहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै भने, “यदि कर्मचारीहरूको यही प्रवृत्ति रहिरह्यो भने प्रदेश सरकारले गरिरहेको प्रयासको प्रभावजनताको आँखामा ओझेलमा पर्न सक्छ। अबबाट उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन दिने नीति बनाऔं, लापरबाही गर्नेहरूलाई कारवाही गरौं।”
मुख्यमन्त्री सिंहले प्रोत्साहन र अनुशासन दुवैलाई सँगै अघि बढाउने संकेत दिँदै पुरस्कार र घटुवा प्रणालीलाई संस्थागत गर्न निर्देशन दिएका छन्। उनका अनुसार उत्कृष्ट कर्मचारीलाई मनोबल बढाउने किसिमले सम्मान गर्ने र काम नगर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउने व्यवस्था प्रभावकारी हुने छ।
कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले भने बजेट खर्च नहुनु कार्यविधिमा रहेको अस्पष्टताको कारण भएको स्पष्ट पारे। उनले सबै सचिवहरूको सुझाव आत्मसात् गरी नयाँ कार्यविधि निर्माण गरिने प्रतिवद्धता जनाए।
कार्यक्रममा १० प्रमुख एजेन्डा: रकमान्तर, आयोजना संशोधन, बजेट बाँडफाँटदेखि बक्यौता रकमको व्यवस्थासम्मका विषयमा छलफल भएको थियो। सचिवहरूले संघीय नीतिसँग समन्वय गर्दै विधेयक निर्माण गर्न सुझाव दिएका छन्।
यो कार्यक्रमले बजेट निर्माणको प्रक्रिया मात्र होइन, कर्मचारी प्रशासन र कार्यसम्पादन सुधारको आवश्यकता समेत उजागर गरेको छ। मुख्यमन्त्रीको कडा चेतावनीले अब प्रदेश सरकार कर्मचारीतन्त्रको उत्तरदायित्वमा थप दबाब दिने देखिएको छ।