अर्जेन्टिनाको संसदबाहिर बुधबार भएको प्रदर्शनका क्रममा दर्जनौं व्यक्ति घाइते भएका छन्। पेन्सन वृद्धि र अवकाशप्राप्त नागरिकहरूका लागि सुविधाको निरन्तरताको माग गर्दै गरिएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको हो।
रायटरका प्रत्यक्षदर्शीहरूका अनुसार, बृद्ध प्रदर्शनकारी र सामाजिक अभियन्ताहरूले गीत गाइरहेका बेला सुरक्षाकर्मीहरूले दंगा नियन्त्रण कवच र लाठीसहित भीडलाई हटाउने प्रयास गरेका थिए।
संसद भवनबाहिरको यो प्रदर्शन त्यसबेला भएको हो, जब सांसदहरूले पेन्सन वृद्धिसम्बन्धी प्रस्तावमा छलफल गर्न आवश्यक संख्यामा उपस्थित हुन सकेनन्।
अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेलीको सरकारले खर्च कटौतीमार्फत अर्थतन्त्र सुधार्ने र उच्च मुद्रास्फीति नियन्त्रण गर्ने नीति अपनाइरहेको छ। सरकारले पेन्सन वृद्धिको प्रस्तावको विरोध गरेको छ।
आर्थिक मितव्ययता अभियानका कारण राजधानी बुएनोस आयर्समा साप्ताहिक रूपमा प्रदर्शन भइरहेका छन्। यसमा मजदुर संघ, फुटबल समर्थक र पेन्सन कटौतीबाट प्रभावित बृद्धहरू सहभागी भइरहेका छन्।
"जब कुनै पेन्सनधारीले मात्र ३७९,००० पेसो (झण्डै ३३१ अमेरिकी डलर मासिक) कमाइरहेका छन्, त्यस्तो अवस्थामा यो संसद जस्तो लोकतन्त्रको घर चुप लागेर बस्न सक्दैन," मध्यपन्थी सिभिक कोएलिशन पार्टीकी सांसद पाउला ओलिभेटोले संसदमा भनिन्।
मतदानको लागि आवश्यक २५७ सांसदमध्ये १३३ अनुपस्थित रहे, जबकि १२४ मात्र उपस्थित थिए।
सामाजिकवादी पार्टीका प्रतिनिधि एस्टेबान पाउलोनले सरकार समर्थक सांसदहरूले बैठक अबरुद्ध हुँदा हाँसेको आरोप लगाउँदै भने, “सरकारको योजना स्पष्ट छ – न्यूनतम तलब पाउने लाखौं नागरिकलाई भोकमार्फत मर्न दिने।”
तर सरकारले भने स्रोत सीमित भएकाले पेन्सन वृद्धिका लागि पहिले लगानी र आर्थिक वृद्धि आवश्यक हुने तर्क गरेको छ।
सरकारी तथ्यांकअनुसार, सन् २०२३ को दोस्रो छमाहीमा अर्जेन्टिनाको करिब ३८ प्रतिशत जनसंख्या – झण्डै १ करोड १३ लाख – गरिबीको रेखामुनि रहेका थिए। यो संख्या त्यसअघि पहिलो छमाहीमा ५३ प्रतिशत थियो।