धनुषाको बटेश्वर गाउँपालिका कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार छापा मारेको छ। बर्दिबासस्थित अख्तियार कार्यालयको टोलीले लामो समयदेखि अलपत्र र ‘सेटिङ’का योजनासम्बन्धी कागजात नदिएको भन्दै कार्यालयमा छापा हानेर फाइल नियन्त्रणमा लिएको हो।
अनलाइनखबरमा योजना अलपत्र परेको विषयमा समाचार प्रकाशित भएपछि अख्तियारले पटक–पटक कागजात माग्दै पत्राचार गरे पनि गाउँपालिका कार्यालयले अटेर गरेको थियो। त्यसपछि मंगलबार अख्तियारको टोली स्वयं कार्यालय पुगेको थियो।
तर, योजनाका फाइलहरू राखिएको दराजको साँचो निलम्बित लेखा अधिकृत सुमन पुरीसँग रहेको भन्दै कर्मचारीहरूले फाइल दिन इन्कार गरेका थिए। अख्तियारका एक कर्मचारीका अनुसार करिब चार घण्टासम्म फाइल दिन आनाकानी भएपछि दराजको ताल्चा फोड्ने चेतावनी दिइएको थियो। अन्ततः फाइल खोलेर अख्तियारलाई हस्तान्तरण गरिएको थियो।
अख्तियारले नियन्त्रणमा लिएका फाइलहरूमा गाउँपालिका अगाडिको अधुरो महादेव मन्दिर, वडा नं.–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयको अधुरो चार कोठे भवन, चार वर्षदेखि अलपत्र परेका अन्य योजनाहरू पनि छन्।
सूचनाका अनुसार ती योजना तत्कालीन पालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीको कार्यकालको अन्त्यतिर, आर्थिक वर्ष २०७८/७९ मा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र लेखा अधिकृत पुरीको मिलेमतोमा रौतहटका आर्यन कन्ट्रक्सनलाई टेन्डर तथा कोटेसनमार्फत एक दर्जनजति योजना दिने सेटिङ गरिएको थियो।
आर्यन कन्ट्रक्सनले वडा नं. २ स्थित श्रीजन प्रिय माध्यमिक विद्यालयको आठ कोठे भवन, पालिकाको प्रशासनिक भवनको दोस्रो तल्ला, दलित बस्तीको पीसीसी सडक, वडा नं. ३ का दलित बस्तीको घर निर्माण जस्ता कार्य हतार–हतारमा सम्पन्न गरे पनि मन्दिर र लक्ष्मी माविको भवन अधुरो छाडिएको हो।
सेटिङमा भएको ठेक्कापट्टामा कुनै योजना एक प्रतिशतसमेत बिलो नपरेको अख्तियारको प्रारम्भिक अनुमान छ। यस्ता योजनाको प्राविधिक जिम्मेवारी स्थानीय इन्जिनियर जितेन्द्र यादवबाट खोसेर करारका इन्जिनियर शौरभ कुशवाहालाई दिइएको र योजनाका कागजातहरू बर्दिबासबाटै तयार पारिएको पनि खुलेको छ।
अनियमितता पुष्टि भएमा सम्बन्धित अधिकारी, कर्मचारी र ठेकेदारमाथि कानुनी कारबाही अघि बढाइने अख्तियार स्रोतले जनाएको छ।