सर्लाहीको पर्सा गाउँपालिका–५ मा सामान्य गरगहना विवादले भयावह रूप लिँदै तश्लिम अन्सारीलाई सुंगुरको खोरमा थुनेर कुटपिट गरिएको हृदयविदारक घटना सार्वजनिक भएको छ। विवाहका लागि गरगहना बनाउने विषयमा शुरू भएको विवाद यति गहिरियो कि स्थानीय सुनचाँदी व्यवसायी राजेन्द्र साह सोनार पक्षबाट अन्सारीमाथि अमानवीय व्यवहार गरिएको पीडित परिवारको आरोप छ।
शनिबार बिहान १० बजे तिर राजेन्द्र साह सोनारसँग भनाभनपछि केही समयमै अन्सारीलाई खोरमा थुनेर कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना थप चर्चामा आएको हो। पीडितका छोरा कौशर अन्सारीले बाबुलाई सुनियोजित रूपमा अपमानजनक तरिकाले कुटपिट गरिएको बताएका छन्। “एउटा मुस्लिम समुदायको व्यक्तिलाई सुंगुरको खोरमा राखेर कुटपिट गर्नु भन्दा ठूलो पीडा केही हुँदैन,” उनले भने।
घटनासँग सम्बन्धित अभियोगमा प्रहरीले राजेन्द्र साह सोनारसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जनाएका छन्। पक्राउ पर्नेमा अन्सारीका दाइ महम्मद अन्सारी, सोनारका छोरा कमलेश साह, राहुल कुमार महतो र पप्पु कुमार यादव रहेका छन्।
डिएसपी राईका अनुसार हालसम्म उजुरी नपरेको भए पनि अनुसन्धान तीव्र पारिएको छ। “कानूनभन्दा माथि कोही छैन, दोषीलाई कानूनी दायरामा ल्याइन्छ,” राईले भने।
घटनाले सामाजिक सन्त्रास निम्त्याएको भन्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले कडा आपत्ति जनाएका छन्। उनले घटनालाई ‘समाजिक एकता, सहिष्णुता र न्यायमूलक राज्य व्यवस्थामाथिको गम्भीर आक्रमण’ भन्दै दोषीलाई अविलम्ब कडा कारबाही गर्न माग गरेका छन्।
उनले विज्ञप्तीमार्फत पीडित परिवारलाई न्याय दिलाउन, सुरक्षाको प्रत्याभूति गराउन र गरिमासाथ पुनर्स्थापनाका लागि राज्यलाई कडाभन्दा कडा कदम चाल्न आग्रह गरेका छन्।