खानेपानी मन्त्री तथा पर्सा–१ बाट प्रतिनिधिसभा सदस्य प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–२१ अन्तर्गत परवानीपुरदेखि पटेलनगरसम्मको सडक ढलान तथा नाला निर्माण कार्यको आइतबार शिलान्यास गरेका छन्।
स्थानीयको दशकौँको समस्या समाधान हुने विश्वाससहित आयोजना सुरु गरिएको हो। शिलान्यास कार्यक्रममा मन्त्री यादवले यो पूर्वाधार स्थानीयको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेको उल्लेख गर्दै जनताको सहजता र सुविधा सुनिश्चित गर्न बजेट विनियोजन गरिएको जानकारी दिए।
“नागरिकको सेवा गर्नु नै मेरो कर्तव्य र सन्तोषको स्रोत हो,” मन्त्री यादवले भने, “नाला र ढलान बनेपछि वर्षौँदेखि भोगिएको समस्या अन्त्य हुने विश्वास लिएको छु।”
उनले शुद्ध खानेपानी, नाला सुधार र सडक ढलानजस्ता आधारभूत सेवालाई प्राथमिकतामा राखेर योजनाहरू अघि बढाइएको स्पष्ट पार्दै सम्बन्धित निकायलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिइसकेको बताए।
शिलान्यास कार्यक्रममा वडा नं. २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियार, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, कार्यकर्ता र वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
परियोजना सम्पन्न भएपछि परवानीपुर क्षेत्रका बासिन्दाले बर्षौंदेखि झेल्दै आएको जलनिकास र सडक बिग्रिएको समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ।