मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सामुदायिक विद्यालयको गुणस्तरप्रति उठेका गुनासोहरूलाई गम्भीर रूपमा लिँदै मंगलबार धनुषाको हँसपुर नगरपालिकास्थित विद्यालयहरूमा अनुगमन गरेका छन । निरीक्षणका क्रममा उनले केही विद्यार्थी निजी विद्यालयमा अध्ययनरत हुँदाहुँदै नाम सरकारी विद्यालयमा राखेर छात्रवृत्ति र खाजा सुविधा लिइएको भण्डाफोर गरेका छन ।
मुख्यमन्त्रीले हँसपुर–२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, बघचौडामा निरीक्षण गर्दै कागजी नामाङ्कनमार्फत सरकारी स्रोतको दुरुपयोग भइरहेको पत्ता लगाए। “सरकारले विद्यार्थी संख्या हेरेर बजेट छुट्याउँछ, तर यस्ता नक्कली विवरणहरूले शिक्षा क्षेत्रमा नैतिकतामाथि प्रश्न खडा गरेका छन्,” उनले भने।
उनले शिक्षक, विद्यालय व्यवस्थापन समिति, पालिका प्रतिनिधि र अभिभावकसँग छलफल गर्दै सबै पक्षले शिक्षाको गुणस्तर सुधारमा इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। “होमवर्क, तयारीसहितको कक्षा, र नियमित उपस्थिति—यिनै हुन् गुणस्तरीय शिक्षाका आधार,” सिँहको भनाइ थियो।
मुख्यमन्त्रीले विद्यालयको भवन ठूला भए पनि पठनपाठनको स्तर खस्किएकोप्रति चिन्ता व्यक्त गरे। उनले चेतावनी दिँदै भने, “अब सुधार नभए अनुदान रोकिन सक्छ।”
शिक्षाविद् गुरु सुवेदीले नक्कली विद्यार्थी विवरण राखी सरकारी रकम निकासा गर्नु सिधै भ्रष्टाचार भएको टिप्पणी गर्दै दोषीलाई कारबाही गर्न माग गरे।
मुख्यमन्त्री सिँहले प्रदेश शिक्षा निर्देशक महेन्द्र महतोलाई तत्काल पत्राचार गरी आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएका छन्।
यसै क्रममा उनले हँसपुर–८ स्थित श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको निरीक्षण पनि गरे, जहाँ अत्यधिक विद्यार्थी चापका बीच शौचालयजस्तो आधारभूत संरचना नहुनु दुःखद भएको बताए। उपप्रमुख दुर्गीदेवी मण्डलले चालु आर्थिक वर्षमै शौचालय निर्माण सम्पन्न हुने जानकारी दिइन्।
प्रदेश सरकारले एक महिना अघिमात्रै १३६ पालिकामा शिक्षा सुधार सम्बन्धी परिपत्र जारी गरेको थियो। मुख्यमन्त्री सिँहले यसअघि अस्पताल र होटलहरूको पनि अनुगमन गरिसकेका छन्। अबको उनको प्राथमिकता भनेको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनु रहेको छ।